यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतको टोलीले यात्रुहरुको टिकट आफैले जाँचे।
जाँचका क्रममा उनले तोकिएभन्दा बढी भाडा उठाएको भेट्टाए।
गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट जाँच गर्दा बढी रकम उठाएको पाएपछि उनीसहितको टोलीले बढी उठाइएको रकम फिर्ता गराई सम्बन्धित सवारीधनीलाई सचेत गरायो।
भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिइएको फेला परेको हो।
सदरमुकामबाट तीन घण्टा टाढाको पैदल दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयवासीले बताएका छन्।
गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, स्थानीय पसलमा म्याद गुर्जेको सामाग्री बिक्री वितरण गरेको पाइएपछि उक्त सामग्री नियन्त्रणमा लिएको उनले बताए।
सदरमुकामभन्दा बाहिर भएका कारण सबैले ज्यादति गरिरहेको गुनासो बढिरहेको बेला जिल्लाका प्रशासक गाउँमै गएर अनुगमन गर्दा यात्रुहरुले राहतको अनुभव गरेको बताएका छन्।
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएका यात्रुहरुका गाउँमै गएर बसभित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ।
सदरमुकाममा सबै जिल्लाका प्रमुख हुने भएकाले कम समस्या देखिए पनि गाउँमा ठूलो समस्या भएको स्थानीयवासी बताउँछन्।
कसैलाई जानकारी नदिई बसभित्र गएर अनुगमन थाल्नुभएका प्रजिअ पन्त गाडीभित्र पसेपछि सबै यात्रुहरु मुखामुख भएका थिए।
बढी भाडा लिएका यातायात व्यवसायीलाई बदमासी नगर्न सचेत गराइएको छ। जिल्लामा एक दर्जन समितिका यातायातका साधन सञ्चालनमा छन्।
(रासस)