दुई वर्षअघि ३०-३५ जनालाई रोजगारी काम दिएका नरेन्द्र साउद अहिले आफैं मालिक, आफैं कामदार भएका छन्। उनलाई सहयोग गर्ने ३-४ जना त छन् तर सबै काम उनीहरूले मात्र भ्याउँदैनन्।
'अहिले कामदार थोरै छन्। धेरैजसो काम आफैं गर्छु। कागज बनाउने काम मात्र उनीहरूले गर्छन्,' ६३ वर्षीय नरेन्द्रले भने।
नरेन्द्रको भक्तपुर, नयाँ ठिमीमा नेपाली हाते कागज उद्योग छ। उद्योगमा नेपाली कागजबाट उपहारका सामग्री, डायरी, सामान प्याक गर्ने बाकस लगायत सामान बन्छन्।
कुनै बेल ३५ जनासम्म कामदार भएका 'लक्ष्मी हाते कागज उद्योग' को वार्षिक कारोबार १३ लाख हाराहारी थियो।
२०७४ साल जेठमा हनुमन्तेको बाढीले नरेन्द्र र उद्योगका धेरै सपना बगाए।
नरेन्द्रको यो उद्योग उनका बुवाको 'लिगेसी' हो। हाल काठमाडौं बानियाँटारमा श्रीमती र छोराछोरीसँग बस्ने नरेन्द्रको २०१३ सालमा अछामको रामारोशन गाउँपालिकामा जन्म भएको हो।
नरेन्द्रका बुवा गाउँकै स्कुलका प्रधानाध्यापक थिए। घरका माइलो सन्तान नरेन्द्रका दाजु र बहिनी दुवैको निधन भइसकेको छ। आमाबुवा भने गाउँमै छन्।
आफ्ना बुवा पहिल्यैदेखि धेरै मेहनती भएको नरेन्द्र बताउँछन्।
'अहिले पनि घर गयो भने दूध, दही, केही न केही फलफूल टुट्दैन,' उनले भने। बुवालाई नयाँनयाँ काम गर्न मनपर्थ्यो। घरमा लोक्ता पाइने हुनाले बुवाले पहिल्यैदेखि नेपाली कागज बनाउने गरेको उनले जानकारी दिए।
नरेन्द्र अनुसार उनका बुवाले २०४१ सालमा नै 'लक्ष्मी हाते कागज उद्योग' दर्ता गरेका थिए। २-४ जना कामदार पनि राखेका उनी सम्झन्छन्।
'४१-४२ सालतिरको कुरा हो। गाउँमा नापी गएको थियो। त्यतिखेर नापीका काममा नेपाली कागज प्रयोग हुन्छ भनेर बुवाले धेरै बनाएर राख्नुभएको थियो,' उनले सम्झिए।
त्यतिखेर चिना, टिप्पन, नागरिकता, सरकारी कार्यालयलगायतमा नेपाली कागज प्रयोग हुन्थ्यो। उनका बुवा एक जना भरिया लिएर शनिबारका दिन गाउँगाउँमा जान्थे रे। एकभारी कागज लिएर जान्थे, बेलुका सबै बेचिसकेर आउँथे। त्यतिखेर एक ताउ कागजको ५ रूपैयाँ पर्थ्यो।
नरेन्द्रको बाल्यकाल सुखमय नै थियो। गाउँकै स्कुलमा ३ सम्म पढे। थप अध्ययनका लागि टीकापुर गए। त्यहाँको वीरेन्द्र विद्या मन्दिर स्कुलबाट २०४९ सालमा एसएलसी दिए। पछि धनगढीको कैलाली बहुमुखी क्यापस पढे।
२०४६ सालतिर उनका बुवा जागिर छोडेर राजनीतिमा लागे। कागजको काम भने निरन्तर थियो। बुवाको जागिर छुटेपछि घर व्यवहार टार्ने काम कागजले नै भयो। बुवाको काममा छोराछोरीलाई चाख बढ्नु स्वभाविक हो। नरेन्द्र पनि कागजको बजारीकरण गर्न थाले।
'म धनगढीका प्रायः बजारमा नेपाली कागज किन्नुहुन्छ भन्दै सोध्न जान्थेँ,' उनले भने।
धनगढीमा प्लस टु सकेर २०५२ सालतिर उनी काठमाडौं आए। नेपाल कमर्श क्याम्पस, मीनभवन पढे। काठमाडौंमा सबै नयाँ लागे पनि आफ्नो व्यवसायबारे सोच्न थालिहाले। काठमाडौंमा नेपाली कागज कहाँ बिक्छ, कसले किन्छ होला भन्ने उनलाई लाग्यो।
'सुरूमा त कतै गइनँ। पछि ठमेलमा नेपाली कागज बिक्री हुने थाहा पाएँ,' उनले सम्झे, 'बांगेमुडा गएर कुरा गरेँ। त्यहाँ बेच्न थालियो।'
२०३७ सालमा युनडिपीले एउटा कार्यक्रम ल्याएको थियो। कार्यक्रमअनुरूप भक्तपुर औद्योगिक क्षेत्रभित्र 'पेपर क्राफ्ट' स्थापना भयो। त्यसबाट नेपाली कागजका विभिन्न उपहार सामग्री बनाएर विदेशी बजारमा प्रचारप्रसार हुन्थ्यो। कागजको माग बढ्यो, व्यापारी पनि बढे। व्यापारी धेरै भएपछि आधिकारिक रूपमा नेपाली हाते कागज संघ स्थापना भयो।
त्यतिखेर संघले बुलेटिन निकाल्थ्यो। त्यसमा देशभरका निर्यातकर्ता, उद्यमीको नाम र नम्बर हुन्थ्यो। नरेन्द्रले त्यहीँ हेरेर मान्छेहरूलाई फोन गर्थे र भेट्थे। अनि उनीहरूलाई पनि कागज बेच्न थाले।
'पछि गाउँबाट नेपाली कागज आएको छ भन्ने थाहा भएपछि व्यापारी आफैं आउन थाले,' उनले सुनाए। नरेन्द्रले केही समय राजनीतिक पाटोबाट सरकारी जागिर पनि खाए।
'भिम रावल गृहमन्त्री हुँदा म पिए भएँ। २२ महिना काम गरेँ,' उनले सुनाए। त्यहाँबाट निस्किएपछि जागिर खान मन भएन। कागजकै काम गर्ने सोचे र २०७१ सालमा बुवाको लक्ष्मी हाते कागज उद्योगको शाखा नयाँ ठिमीमा खोले।
'बैंकबाट ऋण लिएर ४० लाख लगानी गरेको थिएँ। बुवाले गाउँमा बनाएका कागज पनि यहीँ ल्याएर बेच्न थाल्यौं,' उनले भने।
उनले निर्यातको योजना समेत बनाएका थिए। तर एक्कासि विपद् आइलाग्यो।
'विदेश पठाउन विभिन्न सामान तयार पारिसकेको थिएँ,' उनी सम्झन्छन्, 'त्यही बेलुका बाढी आयो। सबै बगायो।'
हनुमन्तेको बाढीले करिब ५० लाख रूपैयाँ क्षति भएको उनी बताउँछन्।
उनले बीमा पनि आगलागी र चोरीको मात्र गरेका थिए।
'बाढीको बीमा नभएपछि कम्पनीले दिएन,' उनले भने, 'सरकारले सहयोग गर्नुपर्ने हो नि होइन र?'
उनले सरकारसँग सहयोग नमागेका होइनन्। तर दुई वर्ष बितिसक्दा पनि नपाएको गुनासो गरे।
'५० लाखको क्षति दर्ता गरेको, गृह मन्त्रालयमा थन्केर बसेको छ,' उनले भने।
तै पनि उनी निराश छैनन्। जुन आगोले पोल्छ, त्यही आगोले सेक्छ भने झैं यही पेशाबाट माथि उठ्ने उनको सोच छ। कारोबार पुरानो अवस्थामा ल्याउन लगानी खोज्दैछन्। ऋण पनि बढाउने योजना छ। केही महिनापछि बुढानिलकण्ठमा उद्योग सार्दैछन्।
'फेसबुक पेज र इन्टरनेट मार्फत् पनि प्रचार गर्ने सोच छ,' नरेन्द्र आशावादी छन्।
स्वदेशी स्रोतसाधनबाट उत्पादन हुने वस्तुमा नेपाली कागज पनि एक हो। चिसो, हिँऊ पर्ने ठाउँमा मात्र लोक्ता पाइने हुनाले हिमाली भेगका मानिसले पनि रोजगार पाउने उनको भनाइ छ।
५/६ वर्षअघि नेपालको दोस्रो निर्यात रहेको नेपाली हाते कागजको स्वदेशी-विदेशी दुवै बजारमा माग घटेको छ। यसको प्रवर्द्धनमा सरकारले चासो राख्नपर्ने उनले बताए। सरकारले दिने शैक्षिक प्रमाण पत्र र सम्मानपत्रमा मात्र नेपाली कागज अनिवार्य गरिदिने हो भने उद्योग फस्टाउने उनको भनाइ छ।