मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरी बलका एक हवल्दारले विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गरेका छन्।
मंगलबार राती नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइटको टोलीलाई प्रहरी हब्लदार छविन्द्र राईले रातीको समयमा करिब ११-१२ बजेतीर कुटपिट गरेका हुन्।
नो लाइटको गाडी मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै थियो।
कुटपिटबाट प्राधिकरणका गाडी चालक सूर्य बहादुर खत्री घाइते भएका छन्। उनको हातको बुढी औला भाँचिएको छ। घटनामा उनीसँगै प्राधिकरणका अर्का कर्मचारी सुवास खड्काको मुखमा चोट लागेको छ।
उनीहरू दुबैको अर्थोपेडिक हस्पिटल जोरपाटीमा उपचार भइरहेको छ।
बौद्ध प्रहरीका डिएसपी रमेश बहादुर सिंहका अनुसार घटनामा संलग्न भएको भन्दै हवल्दार राईसँगै सशस्त्रकै सहायक प्रहरी निरिक्षक प्रविण राई पनि पक्राउ परेका छन्।
दुबै नातामा दाजुभाइ भएको बताइन्छ।
डिएसपी सिंहका अनुसार पक्राउ परेका हवल्दार छविन्द्रले नोलाइटको गाडीले तीब्र गतिमा आएर आफूलाई 'हानुला झैं!' गरेपछि विवाद भएको बयान दिएका छन् भने प्रविण राईले आफूले कुटपिट नभई झगडा छुट्याउने काम गरेको भन्दै आफ्नो बचाउ गरेका छन्।
पक्राउ परेका उनीहरूमाथि जाहेरी लिएर थप कारवाहीको प्रक्रियामा लगिने सिंहले सेतोपाटीलाई बताए।