तपाईं झट्ट हेर्दा दुब्लो–पातलै हुनुहुन्छ। हातगोडा मसिनै छन्। गाला पुक्क छैन। तौल पनि ठिकै छ। तर, भुँडी चाहिँ भ्यागुतोको जस्तो पुट्ट लागेको छ भने होसियार हुनुस्– तपाईं हृदयघातको जोखिममा हुनुहुन्छ।
मुटुरोग निवारणसम्बन्धी युरोपेली जर्नलमा सोमबार प्रकाशित नयाँ अध्ययनअनुसार, पुट्ट भुँडी लागेको मान्छेलाई हृदयघातको जोखिम अरूभन्दा बढी हुन्छ।
अध्ययनले यो पनि भन्छ, एकचोटि हृदयघात भइसकेपछि तपाईंले पेटको बोसो घटाउनुभएन र पुट्ट भुँडी बोकेरै हिँड्नुभयो भने अर्को हृदयघातको सम्भावना अझ बढ्छ।
‘पेटमा लाग्ने बोसोले हृदयघातको जोखिम मात्र बढाउँदैन, एकचोटि हृदयघात भइसकेपछि पनि भुँडी घटाउनुभएन भने फेरि हृदयघात हुने जोखिम झनै बढ्छ,’ स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटका डाक्टर हाने मोहम्मदीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
एकचोटि हृदयघात भइसकेको मान्छेले भविष्यमा यसबाट बच्न आफ्नो भुँडी सामान्य आकारमा ल्याउनुपर्ने उनले बताइन्।
‘पहिलो हृदयघातपछि मान्छे नियमित औषधि खान्छन्। तौल बढ्न नदिन चनाखो हुन्छन्,’ उनले भनिन्, ‘जतिसुकै औषधि खाए पनि, तौलमा जतिसुकै ध्यान दिए पनि र सुगर–कोलेस्ट्रोल सामान्य राखे पनि पुट्ट भुँडी घटेको छैन भने सम्झनुस्, तपाईं हृदयघातको जोखिमबाट मुक्त हुनुभएको छैन।’
उनले यो पनि भनिन्, ‘हृदयघातबाट बच्न चाहनुहुन्छ भने तौल होइन, कम्मर नाप्नुस्।’
स्वीडेनमा गरिएको यो अध्ययनमा पहिलो हृदयघात भइसकेका २२ हजारभन्दा बढी बिरामीको नियमित स्वास्थ्य जाँच गरिएको थियो। तीमध्ये ७८ प्रतिशत पुरुष र ९० प्रतिशत महिलाको भुँडी पुट्ट थियो। पुरुषको भुँडीको नाप ९४ सेमी (३७.६ इन्च) वा त्योभन्दा बढी र महिलाको ८० सेमी (३२ इन्च) वा त्योभन्दा बढी थियो।
अनुसन्धाताहरूले अध्ययनमा संलग्न बिरामीलाई झन्डै चार वर्ष पछ्याए। उनीहरूको कम्मरको नाप र मुटुको रक्तनलीमा आउने अवरोधबीच के–कस्तो सम्बन्ध छ भनी मिहिन केलाए। यसबीच १ हजार २ सय ३२ जना पुरुष र ४ सय ६९ जना महिलालाई दोहोर्याएर हृदयघात भयो।
यो अध्ययनअनुसार धूमपान, मधुमेह, उच्च तनाव, शरीरको उचाइ र तौलको अनुपात (बिएमआई) सँगसँगै भुँडीमा लाग्ने बोसो पनि हृदयघातको निम्ति बराबर जिम्मेवार रहेको पाइयो।
अनुसन्धाताहरूले शरीरको समग्र मोटोपनाभन्दा कम्मरको नापलाई हृदयघातको महत्वपूर्ण सूचक मानेका छन्। उनीहरूले हृदयघातको जोखिम पत्ता लगाउन बिरामीको कम्मरको नाप लिनू भनी डाक्टरहरूलाई सुझाएका छन्।
भुँडीको बोसो र हृदयघातको जोखिम महिलाभन्दा पुरुषमा बढी र एकनास पाइएको अनुसन्धाताहरूले बताए।
अध्ययनमा सामेल बिरामीहरूमा पुरुषको अनुपात तीनचौथाइ थियो। त्यसले पनि यस्तो नतिजा आएको हुनसक्ने बताइएको छ। यसबारे ठोस निष्कर्षमा पुग्न थप अनुसन्धानको खाँचो छ।
‘पुरुष र महिलाले आफ्नो भुँडीमा झुन्ड्याएर हिँड्ने बोसोको प्रकृतिका कारण यस्तो नतिजा आएको हुनसक्छ,’ डा. मोहम्मदीले सिएनएनसँग भनिन्।
केही अध्ययनअनुसार पुरुषले जनावरको बोसो बढी खान्छन्, जुन शरीरको भित्रसम्म गएर प्रमुख अंगहरूलाई बेरेर बस्छ। यस्तै बोसो कोलेस्ट्रोलमा परिणत भएर रक्तनलीमा जम्मा हुने र हृदयघातको कारण बन्ने मोहम्मदीको भनाइ छ।
‘महिलाहरूको भुँडीमा जम्मा हुने बोसो भने तुलनात्मक कम हानिकारक हुन्छ भनी अध्ययनले देखाएको छ,’ उनले भनिन्।
विश्व स्वास्थ्य संगठनले पुरुषमा ९४ सेमी र महिलामा ८० सेमीभन्दा ठूलो कम्मर भए हृदयघात लगायत अन्य मुटुसम्बन्धी रोगको जोखिम बढी हुने जनाएको छ। पुरुषको कम्मर १०२ सेमी र महिलाको ८८ सेमीभन्दा बढी भए यो जोखिम उल्लेख्य रूपले बढ्छ भन्ने मानिन्छ।
पुट्ट भुँडी घटाउन अनुसन्धाताहरूले स्वस्थ खाना र नियमित व्यायाममा जोड दिएका छन्।
विगतका विभिन्न अध्ययनले शरीर स्वस्थ राख्न दैनिक कम्तीमा ३० मिनेटको तीव्र हिँडाइ आवश्यक पर्ने देखाएको छ। यसले बोसो घटाएर कम्मर छरितो पार्न मद्दत गर्छ। भुँडी कसिलो पार्ने व्यायामहरूले मांसपेसी कडा पारे पनि भित्रको बोसो नघटाउन सक्ने अध्ययनले देखाएको छ।