मुम्बई सिनेमाको सहर हो। ‘बलिउड’ को सिर्जनशीलता हामीले पर्दामा देखेकै छौं। तर, मुम्बई पुलिस पनि कम छैनन् है!
ट्राफिक लाइटमा रोकिँदा पनि सवारी चालकहरूले हर्न बजाएर हैरान पारेपछि मुम्बई पुलिसले गज्जबको काइदा ल्याएको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार अनावश्यक हर्न बनाएर सहर कोलाहल पार्ने प्रवृत्ति रोक्न मुम्बई पुलिसले ट्राफिक सिग्नल भएका चोक–चोकमा ‘डेसिबल मिटर’ जडान गरेको छ। ‘सजाय दिने सिग्नल’ नाम दिइएको यो उपकरण गाडीको हर्नसँगै सक्रिय हुन्छ।
सहरका चोकमा ‘रेड लाइट’ बल्दा गाडीहरूलाई रोकिन निश्चित समय तोकिएको हुन्छ। यही बेला चालकहरूले हर्न बजाए भने त्यो उपकरण सक्रिय हुन थाल्छ। जति चर्को हर्न बज्यो, गाडी रोकिने समय उति बढ्दै जान्छ। यसले हर्न बजाउने चालकलाई कारबाही त केही हुँदैन, तर उनीहरू ट्राफिक लाइटमा अड्किएर बस्नुपर्ने समय भने लम्बिन्छ।
मुम्बईका ज्वाइन्ट पुलिस कमिसनर (ट्राफिक) मधुकर पाण्डेले सहरका चोकहरूमा रहेको ट्राफिक सिग्नलमा डेसिबल मनिटर जडान गरिएको बताए।
‘हामीले ८५ डेसिबललाई न्यूनतम आधार मानेका छौं। हर्नको आवाज त्योभन्दा चर्को हुनेबित्तिकै ट्राफिक सिग्नलको समय उल्टो घुम्न थाल्छ। यसले ट्राफिक लाइटमा सवारी साधनहरू रोकिनुपर्ने समय बढ्छ,’ पाण्डेलाई उद्धृत गर्दै एनडिटिभी वेबसाइट लेख्छ, ‘पैदलयात्रुहरूले धेरै समयसम्म बाटो काट्ने मौका पाउँछन्।’
पाण्डेका अनुसार, मुम्बई संसारकै सबभन्दा बढी ध्वनि–प्रदूषित सहर हो। सवारी साधनको चर्को आवाज र अनावश्यक रूपमा बजाइने हर्नलाई यसको मुख्य कारण मानिन्छ। यहाँ सबभन्दा बढी हर्न बज्ने ट्राफिक सिग्नलमै हो। रेड लाइटमा एकछिन रोकिनुपर्दा पनि सवारी चालकहरू अधीर भएर हर्न बजाएको बजायै गर्छन्। यसैको तोड खोज्ने क्रममा मुम्बई पुलिसले यो उपाय ल्याएको हो।
यो अभियानमा मुम्बई पुलिसको नारा नै यही छ– ‘हर्न बजाउने छुट छ, तर पर्खिने समय लम्बिँदा झर्को नमान्नुहोला।’
अहिलेसम्म सहरका मुख्य चोकहरू छत्रपति शिवाजी महाराजा टर्मिनल, मरिन ड्राइभ, पेडर रोड, हिन्दमाता सिनेमा दादर र बान्द्रामा यस्तो डेसिबल मिटर जडान गरिएको छ।
मुम्बई पुलिसले ट्राफिक सिग्नलमा डेसिबल मिटर जडान गरिएकोबारे सर्वसाधारणलाई सूचित गर्न एउटा भिडिओ पनि सार्वजनिक गरेको छ। उक्त भिडिओमा गाडीबाट निस्कने हर्नको आवाजले ध्वनि–प्रदूषण कसरी बढेको छ र हर्न बजाउँदा यो उपकरणले कसरी काम गर्छ भनी देखाइएको छ।
‘मुम्बइया स्टाइल’ मा सुरू हुने यो भिडिओमा एक ट्राफिक हवल्दार भन्छन्– ‘संसारकै हर्न राजधानीमा तपाईंहरूलाई स्वागत छ। यहाँ मान्छेहरू ट्राफिक सिग्नलमा रातो बत्ती बल्दा पनि हर्न बजाउँछन्। मानौं उनीहरूलाई लाग्दो हो, जोडले हर्न बजाउँदैमा हरियो बत्ती बल्नेछ। हर्नले बत्तीको रङ फेरिँदैन भन्ने उनीहरूले बुझेका छैनन्।’
‘हर्न बजाउनेहरूलाई जरिवाना तिराउनु वा सजाय दिनुभन्दा धेरै समय ट्राफिक सिग्नलमै कुराएर हर्न बजाउन निरुत्साहित गरौं भन्ने हाम्रो उद्देश्य हो,’ मुम्बई पुलिसका प्रवक्ता तथा डेपुटी कमिसनर अफ पुलिस प्रणय अशोकलाई उद्धृत गर्दै एनडिटिभी लेख्छ, ‘यो जनचेतनामूलक अभियान हो।’
मुम्बई पुलिसको यो अभियानलाई ध्वनि–प्रदूषणविरोधी अभियन्ताहरूले स्वागत गरेका छन्।
लामो समयदेखि यो अभियानमा सक्रिय सुमाइरा अब्दुल अलिले ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले दशकौंमा पहिलोपटक यस्तो ‘गज्जबको काइदा’ निकालेको बताइन्।
‘मैले यस्तो अभियान अरू कुनै मुलुकमा देखेको छैन। सहरको ध्वनि प्रदूषण कम गर्न मुम्बई पुलिसको अभियान संसारमै पहिलो हुनसक्छ,’ उनले भनिन्।
सन् २०१८ मा मुम्बई पुलिसले अनावश्यक हर्न बजाउने १ सय ४९ जनालाई कारबाही गरेको थियो। २०१९ मा यो संख्या बढेर ४ सय ६० पुग्यो।
‘दुःखका साथ भन्नुपर्छ, मुम्बईका धेरै सवारी चालकलाई हर्नको प्रयोग कति बेला र कसरी गर्ने थाहा छैन। उनीहरूले अनावश्यक हर्न बजाउँदा सहरमा ध्वनि प्रदूषण मात्र बढेको छैन, मान्छेको कानको जालीमा समेत नकारात्मक असर परेको छ। मुटुको गति र तनाव पनि बढेको पाइन्छ। यी सबै समस्या हेरेर हामीले सहरलाई कोलाहलमुक्त गर्ने सानो प्रयास गरेका हौं,’ मुम्बईका ज्वाइन्ट पुलिस कमिसनर (ट्राफिक) पाण्डेले भने।