चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोनाभाइरसको सङ्क्रमण इरानमा दुई जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिको ज्यान गएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ।
ज्यान गुमाएकी ती दुई व्यक्ति पौढ उमेरको भएको बताइएको छ। मध्यपूर्वमा कोरोनासंक्रमणको यो पहिलो घटना हो।
'दुई पौढ व्यक्तिको दक्षिण तेहरानको कोम शहरमा कोरोनाभाइरसका कारण मृत्यु भएको छ', इरानका स्वास्थ्यमन्त्रीका सल्लाहकार अलिरेजा विहावजादा भने, 'दुई जनालाई कोरोनाभाइरसका कारण फोक्सोमा संक्रमण थियो।'
त्यसअघि मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरले दुई जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको बताएका थिए।
उनीहरूलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार गरिदैं आइएको थियो।
चीनमा संक्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने विरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको थियो।
कोरोना भाइरसको सङ्क्रमणका कारण हालसम्म चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ।