अरू समयमा खेतको बीचमा रहेको ईशानेश्वर महादेव मन्दिरमा खासै भीड लाग्दैन। खेतहरूमा पनि काम गर्ने मान्छे बाहेक देखिँदैनन्। शिवरात्रिमा भने मेलामाजस्तो मानिसको भीड देखिन्छ। यस्तो भीड जम्मा हुनुमा अनौठो विश्वास छ।
दिनभर निराहार ब्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वासले यो भीड लाग्ने गरेको हो। पश्चिम लमजुङको ईशानेश्वर ८ निवासी प्रदीपराज घिमिरे बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि चिन्तित थिए।
पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा पटकपटक स्वास्थ्य जाँच गराउँदा समेत सन्तान हुने लक्षण नदेखिएपछि डा. भोला रिजालसँग जाँच गराए। परीक्षण पश्चात डा. रिजालले पनि सन्तान हुन नसक्ने बताएपछि उनी शिवरात्रिमा ईशानेश्वर महादेव मन्दिरमा रातभर उठेर ठाडो बत्ती बाले। त्यसपछि उनको सन्तान भयो। शिक्षक समेत रहेका घिमिरेले भने, ‘धर्मप्रति मलाई अहिले विश्वास लाग्छ।’
समीभञ्ज्याङ ३ निवासी रामचन्द्र श्रेष्ठले विवाह गरेको ७ वर्षसम्म सन्तान नभएपछि शिवरात्रिमा रातभर उठेर बत्ती बाले। निराहार ब्रत बसेर ठाडो बत्ती बालेपछि उनको अहिले एक छोरा जन्मिएको छ। भन्छन्, ‘अरूले भनेको सुन्दा विश्वास थिएन, आफैंले भोग्दा विश्वास भयाे।’
लमजुङ र कास्कीको सिमानामा रहेको ईशानेश्वर गाविस करापुटारमा हरेक शिवरात्रिमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ। मेलामा विशेष गरी रातभर जाग्राम बसेर भजन कीर्तनका साथ बत्ती बाल्ने परम्परा छ।
वर्षेनी एक हजारभन्दा बढी भक्तजन उठेर बत्ती बाल्छन्। भजन कीर्तनकासाथ सन्तान सुख र मनोकांक्षा पूरा हुने विश्वासमा हजारौंको संख्यामा तिर्थालू आउने गरेका छन्।
शिवरात्रिमा उठेर बत्ती बाल्नाले सन्तान प्राप्ति हुने भन्दै स्थानीयबासी ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गर्छन्। दीर्घायुको कामना गर्दै बत्ती तथा लाखबत्ती बाल्नेहरुको समेत मेलामा घुइँचो लाग्छ।
शिवरात्रिमा भक्तजनहरु बिहानै नजिकैको मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवं बेलपत्र चढाउँछन्। त्यस अवसरमा पुराण वाचन, रुद्री पाठ, सामूहिक ब्रतबन्धका साथै विवाह समेत गर्ने परम्परा छ। मादी र मिदिम नदीको किनारमा रहेको फराकिलो फाँटमा रातभर सयौं झुण्ड–झुण्डमा भजन कीर्तनका साथै बत्ती बालेको दृश्य निकै रोमाञ्चक हुने भुलभुलेस्थित प्रभात शान्तिपूर्ण माविका प्रअ ईश्वर पाण्डेले बताए।
शिवरात्रिका दिन मन्दिरमा सबैभन्दा ठूलो मेला लाग्छ भने एकादशी, औंसी, पूर्णिमा, संक्रान्ति लगायत धार्मिक महत्वका दिनहरुमा पनि भक्तजनहरुको घुइँचो लाग्छ।
ईशानेश्वर महादेव मन्दिरमा भारतका विभिन्न स्थानदेखि स्वदेशका लमजुङ, कास्की, स्याङ्जा, बाग्लुङ, गोरखा, चितवन लगायत जिल्लाबाट पनि भक्तजनहरु बत्ती बाल्न जान्छन्। ईशानेश्वरको आशिषले सन्तान प्राप्त हुने भरोसा गर्ने भक्तजन मात्रै होइन, बिहे, व्रतबन्ध लगायत धर्मकर्मका लागि पनि हजारौंको भीड लाग्छ।
रोचक किंवदन्ती
ईशानेश्वर महादेवको उत्पत्ति एवं उत्खननका सन्दर्भमा हिन्दु धर्मग्रन्थका विभिन्न पुराणहरूमा यसको महिमा उल्लेख छ। हिन्दु धर्मशास्त्रको स्वस्थानी ब्रतकथामा उल्लेख गरिए अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा महेन्द्रगिरिमा पुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको थियो।
सोही महेन्द्रगिरि ईशानेश्वरको चिसंकुलाई भनिएको संस्कृतिविद्हरुको भनाइ छ। त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अद्र्धगामिनी, योगिनी, तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिको स्वरुपमा रहेको धार्मिक विश्वास छ।
सोही रत्नभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाइ सेवा गरिन्। लक्ष्मीले कात्तिक कृष्ण अमावश्याको दिन सम्पूर्ण लोकले पूजा गरी सम्मान गरुन् भनी आशिष मागेको र ईश्वरी प्रसन्न भई तथास्तु भनेर बरदान दिएको धार्मिक किंवदन्तीमा पाइएको इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री बताउँछन्। सोही समयदेखि ईशानेश्वर महादेवलाई तारकेश्वर महादेवको रुपमा समेत पूजाआजा गरिँदै आएको छ।
योगी नरहरिनाथको भनाइमा पृथ्वीमण्डलमा महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित भएकाले तारकेश्वरलाई ईशानेश्वर महादेव नामकरण गरिएको हो।
स्थानीयबासीका अनुसार ६ सय वर्षपहिले स्थानीय बासिन्दा शिवदास पोखरेलले चिसो ठाउँ पहिल्याइ धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा हलोको फालीको टुप्पाले शिवलिंग स्वरुपको शीला जोतिएर रगत बगेको र गोरुसहित उनी जलेर मरेको भनाइ छ।
सोही समयदेखि गोरुको सिङ मन्दिरमा सुरक्षित राखिएको ईशानेश्वर क्षेत्र विकास समितिका सदस्य चतुर्भुज घिमिरेले बताए।
यस धार्मिक तथा ऐतिहासिक महत्वलाई पहिचान गरी तत्कालीन गोरखाका निसन्तान राजा कृष्ण शाहले शाकेसंवत १४१४ मा आफ्ना सीपयुक्त पल्टन प्रयोग गरी हाल रहेको मन्दिर निर्माण गरेको बताइन्छ। पछि उनलाई पुत्रलाभ भएको र छोराको नाम शिवरुप सम्झेर रुद्र शाह राखेको किंवदन्ती छ। पछि पूजारी वंशका कपिलमणि सोतीले प्रचार गरी ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रुपमा स्थापित गराएको अध्यक्ष शास्त्रीले बताए।
ईशानेश्वर क्षेत्रमा रहेका प्राचीन शिलालेख एवं अभिलेख अनुसार शाके संवत १६९४ मा नरहरि शाहका सन्तान वीरनारायण शाह र उनका दुई श्रीमतीहरु शालधरा जेठी र शकलानकुमारी कान्छीले नौ सय ३५ रोपनी जग्गा मन्दिरमा दान गरेको उल्लेख छ।
उक्त जग्गाबाट उब्जनी हुने अन्नबाली महाशिवरात्रिका दिन फकिर, फुकुरा एवं जोगीहरुलाई सदावर्त व्यवस्था गरेबमोजिम हालसम्म सञ्चालन भइरहेको पूजारी व्यवस्थापन समितिका सचिव रामचन्द्र सोतीले बताए। त्यस्तै १५ रोपनी पुजारी गुठीमा राखेर नियमित पूजा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। हाल दैनिक पूजा सञ्चालन गर्न सोतीहरू संलग्न एक पुजारी व्यवस्थापन समिति बनाइएको छ।
पुजारीहरूले गुठी उपभोग गरी पूजा कर्म सञ्चालन खर्च जुटाउँछन् भने महादेवलाई सामूहिक आस्थाको केन्द्र मानेर हरेक वर्ष वैशाख १ र कात्तिक १ गते गाउँलेले बाजागाजासहित सामूहिक रुद्री पूजा गर्ने परम्परा छ।
ठाडो भाकाको सुरूवात
पश्चिमाञ्चलमा प्रख्यात ठाडो भाकाको उत्पत्ति शिवरात्रि मेलामा भएको स्थानीय संस्कृतिकर्मीहरु बताउँछन्। शिवरात्रिमा बत्ती बाल्न लमजुङ नेटाका देउबहादुर दुराले विक्रम संवत १९५१ मा पहिलो पटक करापुटारमा ठाडो भाका गाएका थिए।
सोही समयदेखि नै पश्चिमाञ्चलमा ठाडो भाका गाउन थालिएको र लोक दोहोरी गीतको मुहान पनि ठाडो भाका नै रहेको गायक तथा संगीतकार कृष्ण गुरुङ बताउँछन्। ‘लोक तथा दोहोरी गीतको मुहान ठाडो भाका हो’ उनले भने, ‘देउबहादुर दुराले करापुटारमा नयाँ सिर्जना गरेर नेपाली लोक संस्कृतिलाई दिशानिर्देश गरिदिए।’
ईशानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन लागिएको ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री बताउँछन्।
ईशानेश्वर क्षेत्रमा एक सय आठ धारा निर्माण गर्ने गरी काम अघि बढेको र भक्तजनबाट आउने दान दक्षिणा तथा बेलाबखत लगाइने महायज्ञको बजेटबाट ६ रोपनी जग्गा खरिद गरेर केही पूर्वाधार बनाइएको उनले बताए। इशानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन गण्डकी प्रदेश सरकारले पनि ४० लाख सहयोग गरेको छ।