विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध केही समय यता आन्दोलन र फिर्ता गराउनुपर्ने अभियान चलिरहेको छ।
विभिन्न तह, तप्का र क्षेत्रबाट किताबमा लगाइएको कर फिर्ता हुनुपर्ने आवाज बढिरहेका बेलामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्तकमाथि लगाइएको करले शिक्षक र विद्यार्थीलाई असर गरेको भन्दै पत्र लेखेका छन्।
त्रिविको कुलपतिसमत रहेका प्रम ओलीलाई लेखेको पत्रमा बाँस्कोटाले विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित केही पुस्तकहरू मात्र नेपालमा पाइने र अन्य किताबका लागि विद्यार्थी र शिक्षक विदेशमा प्रकाशित हुने पुस्तकमा भरपर्नुपर्ने बाध्यता रहेको र यसले गर्दा पठनपाठनमा असर पर्ने भएकाले पुस्तकमा कर लगाउने विषयमा पुनरावलोकन गर्न अनुरोध गरेका छन्।
बाँस्कोटाले फागुन २ गते प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन्।