काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चार जनालाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ कपनबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौँकी कमला तामाङ र कास्कीका युवराज सापकोटा रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
उनीहरुबाट रेड पाण्डाको छालासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। परका उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालय काठमाडौँ बुझाइएको महाशाखाले मंगलबार एक सूचना जारी गरी जनाएको छ।