मध्यपुरथिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
खोटाङ दिक्तेल नपा–३ पिनालाखा घर भई हाल मनोहरामा १८ वर्षीय छोरा अनिश राईसँगै बस्दै आएकी ३५ वर्षीया बिमला राईलाई ओरोपी तीन छिमेकीले कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
मृतकका छोरा अनिश राईले आफ्नी आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिई आत्महत्या गर्न बाध्य गराएको भन्दै तीनजनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिए।
प्रहरीले शवलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज, काठमाडौं पठाइएको र पक्राउ परेकाहरुलाई आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको जानकारी दिएको छ।