नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय शैयाको क्वारेन्टाइन तयार पारेको छ।
प्रदेश सरकारसँगको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
बुधबार नै नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनाले मोरङको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ वटा टेन्ट बनाएको थियो।
हरेक टेन्टमा २ वटा बेड हुने भएकाले टाँडीमा मात्र २ सय ४ जनालाई राख्न सकिने छ।
झापाको चन्द्रगढीस्थित कृषि तालिम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार भएको छ।
त्यस्तै उदयपुरको बेलसोतस्थित नम्बर एक विकास गणको भवनमा पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने पाण्डेले बताए।
प्रदेश नम्बर एकसँगको सहकार्यमा नेपाली सेनाले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइन बनाउन सुरु गरेको हो।
यसअघि नै प्रदेश-१ सरकारले एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो।
साथै ४० शैयाको छुट्टै आइसोलेसन अस्पताल एक साताभित्र बनाउने तयारी पनि थालेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।
उनले यसबारै औपचारिक निर्णय भने आज हुने जनाए।