प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनैजनाले ट्रायल पास नभई लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका व्यक्तिले अन्य व्यक्तिलाई समेत नक्कली लाइसेन्स बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।