कपिलवस्तुको जितपुर गाउँका विशाल पौडेल ५ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा छन्।
उनी यूएईको दुवै मिराकल गार्डेनस्थित पाँच तारे होटल शेराटनमा काम गर्न गएका थिए। नजिकै अर्को पाँचतारे होटल डब्लुमा अहिले गरिरहेको भन्दा राम्रो काम पाएपछि १ महिनाअघि नै उनले शेराटनबाट राजीनामा बुझाए।
होटलसँगको संझौता अनुसार राजीनामा बुझाएको मितिले थप १ महिना काम गर्नुपर्छ। फेब्रुअरी ५ तारिखमा राजीनामा बुझाएका विशालको जागिर मार्च ५ तारिखमा सकियो।
उनको जागिर मात्र सकिएन, होटलले भिसा समेत क्यान्सिल गरिदियो। कम्पनीले आप्रवासी कामदारको भिसा उसले जागिर छाडेपछि रद्ध गरिदिन्छ।
अहिले विशाल शेराटन होटलकै कामदार बस्ने ठाउँमा बसिराखेका छन्। कोराेना भाइरसका कारण होटल शेराटन, डब्लु लगायत यूएईका सबै होटलहरु बन्द भए। ठूला मल, सुपरमार्केट र कम्पनीहरु पनि बन्द छन्।
उनले नयाँ काम पाएको होटल बन्द भएपछि भने उनी समस्यामा परे। उनी अहिले भिसाविना यत्तिकै बसिरहेका छन्।
आफूले राजीनामा बुझाएको होटल बन्द भएपनि कामदारलाई सुरक्षित तरिकाले राखिराखेको छ। होटलमा पाहुना नभए पनि अरु काममा लगाएर जति दिन काम गरेको हो त्यति नै दिनको तलब दिएको छ।
जसका कारण नेपाली श्रमिकलाई यूएईमा बस्न खासै समस्या छैन। यूएई सरकारले अपनाएको सतर्कताका कारण कोराेनाको डर पनि उनीहरुलाई छैन।
विशालको हकमा समस्या कहाँनिर पर्यो भने यता राजीनामा बुझाएपछि उनलाई जागिर दिन्छु भनेको नयाँ होटलले तत्काल नराख्ने सुचना पठायो।
यूएईमा बस्नका लागि उनको पासपोर्टमा अब जम्मा ८ दिनमात्र भिसा समय छ। काम नपाउने भएपछि स्वदेश फर्कन नेपालले हवाई सेवा बन्द गरेको छ। यस्तो अवस्थामा के गर्ने? उनले विकल्प पहिल्याएका छैनन्। विकल्पको खोजीमा विशाल दिनभर यूएईस्थित नेपाली दूतावासमा फोन गर्छन्। तर उनको फोन उठ्दैन। बारम्बार गर्दा पनि उठ्दैन।
उनी दुखी त त्यतिबेला हुन्छन्, जब फिलिपिन्स, म्यानमार लगायत देशका कामदारले आफ्नो दूतावासमा ‘मिस कल’ गर्दा उनीहरूको दुतावासले नै ‘कलब्याक’ गर्छ।
‘हाम्रो सरकारले हामीलाई त हेर्दै हेर्दैन,' विशालले शुक्रबार फोनमा भने, 'अर्काको सरकारले त कति गर्छ कति।’
यूएईमा मात्र २ लाख बढी नेपाली कामदार रहेको उनलाई थाहा रहेछ। त्यसमध्ये धेरै कामदार एउटा न एउटा समस्या परेर दूतावासमा फोन गरिरहन्छन्। उनले दूतावासको पनि समस्या बुझेका छन्।
‘यति धेरै मान्छेको कुरा सुन्न गाह्रो हुन्छ,' उनले भने 'तर कोराेनाले दुख दिएको यस्तो बेला छुट्टै डेस्कको व्यवस्था हुनुपर्छ नि।’
तत्काल यूएईमै बस्नका लागि विशालसँग एउटा विकल्प खुला छ। तर महँगो। १० दिनपछि युएई बस्नका लागि उनले पर्यटक भिसा लिनुपर्छ।
पर्यटक भिसामा उनी त्यहाँ कोठा भाडामा लिएर बस्नुपर्छ। जहाँ एउटा कोठा भाडामा लिँदा कम्तिमा महिनाको ४० हजार रुपैयाँ खर्च गर्नुपर्छ।
पर्यटक भिसाको म्यादभित्र विशाल नेपाल फर्कनुपर्छ। कति समयसम्म पर्यटन भिसा लिएर बस्ने भन्ने कुराको कुनै ठेगान छैन। नेपाल फर्कँदा १ लाख बढी हवाई शुल्क लाग्छ। एक महिना थप बस्दा पनि भिसा शुल्क, बस्ने, खाने, कोठाभाडा लगायतको खर्च कम्तिमा ४ लाख हुन्छ। तर कति समय नेपाल आउन प्रतिवन्ध लाग्ने हो कुनै ठेगान छैन। अहिले फर्कन पाए उनको एक लाख बराबरको हवाई खर्च मात्र हो।
नयाँ काम गर्ने भनेको होटलले एकदिन अघि मात्र तत्काल काम नदिने खबर दिएको भए उनी सम्भवत यतिबेलासम्म घर पुगिसक्थे। किनकी, एक दिन ढिलाई हुँदा नेपाल आउने अन्तिम जहाज शुक्रबार १२: ४५ बजे छुट्यो। उनी उतै छुटे। कोराेनाका कारण होटलहरु बन्द हुन थालेदेखि विशालले इमेलमा आफ्नो जागिरका बारेमा नसोधको होइनन्।
प्रतिउत्तर होटलले 'प्रोसेस हुँदैछ भनेर रोक्यो, पखाईमा राख्यो।’ फेरि उनले इमेलमा सोधे। बिहीबार साँझ ७ बजे होटलले रिप्लाई लेख्यो, ‘तत्कालका लागि नराखिने भयो, कोराेना भाइरसको त्रास सकिएर अवस्था सामान्य भएपछि मात्र राख्छौं।’ होटलले पठाएको यही रिप्लाईका कारण उनको निद हराम भएको हो। यस्तै समस्यामा परेकाहरु युएईमा धेरै भएको उनको अनुमान छ।
यूएईमा कोराेना भाइरसको डर/त्रास खासै धेरै छैन। किनकि त्यहाँ उच्च सतर्कता छ। यूएई सरकारले बाटो र चोकहरूमा फोन नम्बर राखेर कोराेनाको शंका लागेमा खबर गर्न भनेको छ।
फोनमा खबर गर्ने बित्तिकै एम्बुलेन्स आएर लैजान्छ। उपचार खर्चका लागि पनि कोही बिरामीले टाउको दुखाउन पर्दैन। सरकारले नै ब्यहाेरिदिन्छ। जथाभावि बाहिर निस्कन पाइँदैन। सुरक्षित रुपमा बसेका छन्। कोरोना सतर्कतामा सरकारले निकै कडाई गरेको छ।
कोरोनाको त्रास भन्दा पनि बस्ने र फर्कने दुबै ढोका बन्द भएकाले उनी निरासिएका छन्। कोरोनाको डर लागे नेपाल आएर पनि क्वारेन्टाइनमा बस्न उनीहरु तयार छन्। यूएईमै पनि भनेको ठाउँमा बस्न तयार छन्। तर यूएईमै बस्दा अवैध बसाई हुने र स्वदेश फर्कन हवाई सेवा नहुने अवस्थामा उनीहरूले सरकारको भूमिका खोजेका छन्।
यूएईस्थित नेपाली दूतावासले त्यहाँको सरकारलाई पहल गरेर कामदार भिसा थप्न र बस्न सक्ने अवस्था रहन्छ। अर्को, यस्तै अवस्थामा यूएईमा रहेका नेपालीलाई ल्याउन जहाज पठाउन सकिन्छ। विशालले नेपाल फर्कने जहाज आए टिकटको पैसा आफूहरुले नै तिर्ने बताए।
कोराेनाको सन्त्रासमा नेपाली कामदारले के गर्ने नेपाली दूतावासले अहिलेसम्म केही जानकारी दिएको छैन। यूएईका कम्पनीहरुले नेपाली कामदारलाई कोहीलाई बेतलबी छुट्टी दिएर राखेको छ त कसैलाई कम्पनीले नै नेपाल पठाइदिएको छ। विशाल जस्ता नेपाल पठाइन छुटेकाहरु मात्र अहिले समस्यामा छन्।
एकाध महिनाअघि मात्र घर आउन सक्छु भनेर आमालाई भनेका विशालले अचेल आउँदिन भनेका छन्। चार वर्षअघि मात्र मुटुको अप्रेसन गरेकी आमालाई चिन्ता नलिनु केही हुँदैन पनि भनेका छन् । तर उनलाई नेपाल सरकारलाई सोध्न मन छ, ‘म जस्तो भिसा नभएकाले के गर्ने हो ?’
प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार साँझ गरेको सम्बाेधनमा देशबाहिर रहेका नेपालीलाई समस्या परे त्यहाँस्थित नेपाली दूतावासमा भन्न भने।
प्रधानमन्त्रीको सम्बोधन सुनेर विशालले फेरि दूतावासमा फोन गरे। तर दूतावासको फोन फेरि पनि उठेन। अरूबेलाका समस्यामा फोन गर्दा पनि धेरै समयपछि मात्र सम्बन्धित अधिकारीसँग कुरा गर्न पाइने विशालले यसअघि नै भोगिसकेका छन्।
विशाललाई कतिखेर यस्तो पनि लाग्छ- यसपटक के थाहा? फिलिपिन्स र म्यानमारका दूतावासलेझैं नेपाली दूतावासले पनि आफूलाई ‘कलब्याक’ नै गर्छ कि ! दूतावासले चाह्यो भने उनी र उनी जस्तो समस्यामा परेकाहरुको समस्या समाधान गर्न सक्छ!