के तपाईं हरेक दिन बिहान–बिहान हिँड्ने गर्नुहुन्थ्यो? क्लब गएर नियमित व्यायाम गर्नुहुन्थ्यो? त्यसो भए यो आठ दिनको ‘लक–डाउन’ मा के गर्नुहुन्छ त?
व्यायामका सोखिन मात्र होइन, अरूका लागि पनि आठ–आठ दिन घरमै बस्दा मोटाइने चिन्ता हुनसक्छ। यी सबैका लागि फ्रान्सका एक ३२ वर्षीय व्यक्ति उदाहरण बनेका छन्।
रेस्टुरेन्टमा काम गर्ने इलिसा नोकोमोभिचले फ्रेन्च सरकारको ‘लक–डाउन’ आदेश अवज्ञा नगरी घरै बसेर करिब ७ घन्टा दौडेर म्याराथन पूरा गरेका छन्।
म्याराथनको लम्बाइ ४२ किलोमिटरभन्दा बढी हुन्छ। उनले गत साता आफ्नै घरको २३ फिट लामो बार्दलीमा दौडेर यो दुरी पूरा गरेका हुन्। यसका लागि उनी ६ घन्टा ४८ मिनेट लगातार दौडेका थिए।
‘कति समय लाग्यो भन्ने मलाई मतलब छैन, दौडनु मेरो सोख हो,’ फ्रान्सको बालमा सहरमा बस्ने इलिसालाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सिएनएनले लेखेको छ।
इलिसाले आफ्नो यो दौड कोरोना भाइरस संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेर जुधिरहेका डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई समर्पण गरेका छन्। ‘मेरो दौड ती सबै स्वास्थ्यकर्मीका लागि हो, जो हाम्रो ज्यान बचाउन आफ्नो ज्यान दाउमा राखेर उल्लेखनीय काम गरिरहेका छन्,’ उनले भने।
इलिसाले अहिलेसम्म ३६ चोटि म्याराथन दौडिसकेका छन्। त्यही दौड घरको बार्दलीमा पूरा गर्नुलाई चुनौतीका रूपमा लिएको उनको भनाइ छ।
बार्दलीको दुरी छोटो भएकाले तीव्र गतिमा दौडन नसकेको उनले सिएनएनलाई बताए। यही समस्याका कारण उनलाई बार्दलीमा म्याराथन पूरा गर्न जति समय लाग्यो, त्यो उनको व्यक्तिगत रेकर्डको दोब्बर हो। उनी सामान्यतया यसको आधा समयमै म्याराथन पूरा गर्छन्।
‘मेरो बार्दली सानो छ, त्यसैले यताबाट उता, उताबाट यता गरिरहनुपर्छ, यसले धेरै समय लाग्यो,’ उनले भने।
सिएनएनका अनुसार, उनले बार्दलीमा म्याराथन पूरा गर्न ३ हजारचोटि यताबाट उता र उताबाट यता दौडेका थिए। दौडका बीचमा इलिसालाई उनकी प्रेमिकाले केही खानेकुरा र पेय पदार्थ खुवाएकी थिइन्।
संसारलाई कोरोना भाइरस संक्रमणले नछोपेको भए उनी मार्च १५ मा बार्सिलोनाको सडकमा हुन लागेको म्याराथन दौडिने तयारीमा थिए। कोरोनाका कारण कार्यक्रम रद्द भयो। ‘मेरो घरको बार्दली कुनै पनि हिसाबले बार्सिलोनाको सडकजस्तो छैन, तर यहाँ दौडिनुको अनुभव पनि रमाइलो रह्यो,’ उनले भने।
इलिसाले आफ्नो यो अनुभव सार्वजनिक गरेपछि धेरै जना प्रभावित भएका छन्। फ्रान्स सरकारले यही मार्च १४ देखि अत्यावश्यक सेवाबाहेक सहरका सबै सार्वजनिक स्थल बन्द गरेको छ। रेस्टुरेन्ट, क्याफे र क्लबहरू खुलेका छैनन्। मान्छे आ–आफ्नै घरमा बसेका छन्।
यो अवस्थामा इलिसाले जस्तै घरभित्र म्याराथन नदौडे पनि आफ्नो शरीर फुर्तिलो राख्न नियमित व्यायाम र बार्दली, कौसी वा आँगनमा तीव्र गतिले दौडन सकिन्छ भन्ने सन्देश गएको छ।
तपाईंहरू पनि आठ दिनको ‘लक–डाउन’ मा चुपचाप बस्नुभन्दा दिनको केही समय यसैगरी घरभित्र दौडने वा फटाफट हिँड्ने हो कि!