सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।
दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन्।
उनीहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए।
घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई सुँढले तानेर फाल्दा उनीहरू घाइते भएका हुन्। देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले बताए।
विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए।
कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उनले जानकारी दिए।
(रासस)