पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या करिब सवा लाख पुगेको छ।
पछिल्लो २४ घण्टामा १९ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या सवा लाख पुगेको हो। अमेरिकामा हाल कुल संक्रमित संख्या १ लाख २३ हजार ७ सय ५० रहेको छ।
संक्रमणका कारण हालसम्म त्यहाँ २२ सय ११ जनाको मृत्यु भइसकेको छ।
अमेरिका हाल विश्वको सर्वाधिक कोरोना भाइरस संक्रमित भएको मुलुक हो।
अमेरिकापछि दोश्रो नम्बरमा इटालीमा धेरै संक्रमित रहेका छन्। त्यहाँ ९२ हजार ४ सय ७२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ।
संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने मुलुकमा भने इटाली पहिलो नम्बरमा पर्छ। संक्रमणका कारण त्यहाँ १० हजार २३ जनाको ज्यान गइसकेको छ।
यसैगरी संक्रमित संख्याको आधारमा चीन तेश्रो नम्बरमा छ। त्यहाँ ८१ हजार ४ सय ३९ जनामा संक्रमित भएका छन् भने ३३ सय जनाको ज्यान गएको छ।
चीन कोरोना भाइरसको उद्गम मुलुक हो।पछिल्लो समय भने चीनमा संक्रमित र मृतकको संख्या घटेको छ। त्यहाँ स्थानिय भन्दा पनि बाहिरबाट आएका मानिसहरूमा संक्रमण देखिएको छ।
चीनपछि चौथो, पाँचौ, छैटौ, सातौं, आठौं नवौं तथा दशौं नम्बरमा क्रमशः स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीटजरल्याण्ड तथा नेदरल्याण्डस् रहेका छन्।
हेर्नुस् तस्वीरमा कोरोना भाइरस संक्रमित १० मुलुकको पछिल्लो तथ्याकंः
यी १० मुलुकपछि संक्रमित संख्या भएका मुलुकमा दक्षिण कोरिया,बेल्जियम, अस्ट्रिया, टर्की, क्यानडा, पोर्चुगल, नर्वे, ब्राजिल, अस्ट्रेलिया, इजरेल र स्वीडेन पर्दछन्।
पछिल्लो विश्व विवरण अनुसार संसारभर ६ लाख ६३ हजार ७ सय ४० जनालाई कोरोना भाइरसको संक्रमण भइसकेको छ।
संसारका १९९ मुलुक तथा क्षेत्रमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
संक्रमित मध्ये ३० हजार ८ सय ७९ जनाको ज्यान गएको छ भने १ लाख ४२ हजार १ सय ८३ जना निको भएर घर फर्किएका छन्।
कोरोना भाइरसको संक्रमणलाई रोक्न पछिल्लो समय विभिन्न मुलुक 'लकडाउन'मा गएका छन्।