फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस संक्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित ६ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।
यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको चन्दले बताए।
बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।
चन्दका अनुसार तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ।
(रासस)