कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ।
बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त छिन्। बुटवल डेरामा बस्दा कलेज जाने/आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी निशा गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर बित्ने गरेको छ।
हुन पनि यतिबेला गाउँघरमा मल बोक्ने खेतीपाती लगाउने र पाकिसकेको खेती भित्र्याउने चटारोमा छन्। किसान यही चटारोको मेसोमा गाउँ आएकी निशाले घरपरिवारसँगै खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताइन्।
अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाटका लागि गाउँ डुल्ने गरेकी उनी यतिबेला भने परिवारमै सीमित रहेको बताइन्।
‘अरु बेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तसँग भेटघाट गर्ने गरिन्थ्यो यसपालि कोरोना भाइरसको संक्रमणको त्रासले घरमै बस्ने र घरपरिवारसँगै घरको काम गरेर दिन बिताउने गरेकी छु’ उनले भनिन्।
निशा मात्रै होइन, कोरोना भाइरसको संक्रमणको रोकथामका लागि लकडाउन लागू भएपछि गाउँ फर्किएका धेरै युवायुवती यतिबेला यो समयलाई आफूले जानेको काम गरेर सदुपयोग गरिरहेका छन्। उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको छ।
वालिङ बजारमा मोबाइल पसल गर्दै आएका केशव पराजुली यतिबेला घरमा डोको, थुन्से बुन्न व्यस्त छन्। उनको दैनिकी बाँसघारीमा गएर बाँस काटेर घरमा ल्याउने डोको र थुन्सेका लागि आवश्यक चोया तयार पारेपछि बुन्ने काम गरेरै बित्ने गरेको छ।
पराजुलीले फुर्सदको समयमा यत्तिकै बस्नुभन्दा आफूले जानेको सीप प्रयोग गर्दा समय बिताउन पनि सजिलो हुने र गाउँघरमा काम लाग्ने भएकाले व्यापार व्यावसाय बन्द भएपछि गाउँमा आएर डोका, थुन्से सुपोलगायतका बाँसबाट बनाउन सकिने सामग्री बनाएको बताए।
‘आफूले जानेको काम गर्न लाज मान्नु पर्दैन गाउँघरमा हराउँदै गएको यो पेशालाई जोगाउन पनि मैले यो काम गरेको हुँ लकडाउन भरको अवधि डोका, थुन्से बुनेर खाली समया बिताउने योजना बनाएको छु’ उनले भने।
मिर्मी बहुमुखी क्यापम्समा बीबीएस चौथो वर्षमा अध्ययनरत विन्दु भट्टराई पनि विश्वमा कोरोना सङ्क्रमणको महामारी फैलिएपछि सरकारको लकडाउनको घोषणासँगै कलेज बन्द भएपछि घरपरिवारसँगै घेतबारीमा काम गरेर बिदाको समयको सदुपयोग गरेको बताउँछिन्।
‘अहिले गाउँघरमा खेती लगाउने समय भएकाले यही काममा व्यस्त रहेकी छु’ उनले भनिन्। परिवारसँगै काम गर्दा रमाइलो पनि हुने घरको काममा सहयोग पनि पुग्ने भएकाले परिवारसँगै काम गर्ने गरेको उनले बताइन्। छरछिमेमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले सकेको काम गरेर यो समयको सदुपयोग गर्न सुझाउने गरेको उनले बताइन्।
पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री लकडाउनको समयमा गाउँघरमा आएका युवायुवतीले गाउँघरमा आफूले जानेको सीपलाई प्रयोग गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको देख्दा खुशी लागेको बताउँछिन्।
‘गाउँघरमा आएका युवायुवती सुरुसुरुमा अन्योलमा परे पनि अहिले कोही डोका बुन्ने खेतबारीमा काम गर्नुका साथै तरकारी लगाउन थालेका छन् यसले युवा जमातमा एक खालको सकरात्मक वातावरण पनि निर्माण गरेको पाएको छु‘ उनले भनिन्।
पुतलीबजार नगरपालिका–३ का अनन्तकुमार श्रेष्ठले लकडाउनका कारण विद्यार्थी लामो समय घरमै बस्नु परे पनि यो समयमा घरपरिवारले आफ्नो पारिवारिक अवस्थाका साथै परम्परा र संस्कृतिका बारेमा सिकाएर समयको सदुपयोग गर्न सकिने बताए।
‘मैले यो समयमा छोराछोरीलाई कविता रचना गर्न लगाउने चित्र बनाउन लगाउने गरेको छु, यसमै उनीहरु अहिले रमाउने गरेका छन्‘ उनले भने।
यो लकडाउनको समयमा अभिभावकले आफ्ना छोराछोरीलाई आफूसँगै राखेर पारिवारिकलगायतका अन्य रचनात्मक काममा समेत लगाउन सकिने आफूले अनुभव गरेको श्रेष्ठको भनाइ छ। यसैगरी सबैले आफ्नो क्षमता र अनुभवका आधारमा घरपरिवार भित्रै रहेर गर्न सकिने काम गरेमा लकडाउनको पालनासँगै समयको सदुपयोग गर्न सकिन्छ।
(हिमलाल पराजुली/रासस)