(यो स्टोरी हामीले 'द न्यूयोर्कर' र 'साउथ चाइना मर्निङ पोस्ट' का आधारमा तयार पारेका हौं।)
जनवरी अन्तिम साता न्यूयोर्क, म्यानहटनको एउटा प्रयोगशालामा हङकङबाट आइरहेको पार्सलको व्यग्र प्रतीक्षा हुँदै थियो।
डेभिड होलाई यो पार्सल झिकाउने चाँजो मिलाउन निकै गाह्रो पर्यो। उनले हङकङमा रहेका आफ्ना सम्पर्क व्यक्तिलाई तारन्तार फोन गरे। उनको न्यूयोर्क अफिसका कर्मचारीलाई सरकारी अनुमति लिन र जहाजको बन्दोबस्त मिलाउन कयौं दिन लाग्यो।
संसारकै प्रसिद्ध एचआइभी–एड्स अनुसन्धानकर्ता डेभिडले कोरोना भाइरस लागेर निको भएका दुई जना बिरामीको रगतको नमूना मगाएका थिए। हङकङ अस्पतालले नमूना रगतबाट कोषहरू छुट्टयायो। त्यसलाई सानो सिसामा भरेर माइनस १५० डिग्री तापक्रमको नाइट्रोजनमा जमायो। र, विशेष प्रकारको कुरिअर सेवाबाट न्यूयोर्कस्थित डेभिडको प्रयोगशालामा पार्सल गर्यो।
डेभिडले फेब्रुअरी अन्तिम साता पार्सल जस्ताको तस्तै पाए।
हङकङमा कोरोना लागेका व्यक्तिको रक्तकोष करिब तेह्र हजार किलोमिटर पार गरी न्यूयोर्क प्रयोगशाला पुग्यो, जहाँ डेभिड लगायत उनका सहकर्मीले त्यसको रौंचिरा केलाए।
मानव शरीरको अन्तर्य भनेको लडाइँको मैदानजस्तै हो, जहाँ हरपल भाइरस र ब्याक्टेरियासँग घमासान चल्छ। जब–जब कुनै भाइरस वा ब्याक्टेरियाले हमला गर्छ, हाम्रो शरीरले त्योसँग लड्न ‘एन्टिबडी’ बनाउन थाल्छ। भाइरस भनेको बाह्य आक्रमणकारीले चलाएको मिसाइल हो भने, त्यो मिसाइल निस्क्रिय पार्ने एन्टि–मिसाइल हाम्रो एन्टिबडी।
यो लडाइँमा कहिले हाम्रो एन्टिबडीको जित हुन्छ, कहिले हार। कोरोना भाइरससँग हामी हारिरहेका छौं। अब वैज्ञानिकहरूको चुनौती त्यस्तो एन्टिबडी विकास गर्नु हो, जो कोरोनाभन्दा ताकतवर हुनेछ, चाहे त्यो हामीले इञ्जेक्सन लगाउने ‘भ्याक्सिन’ (खोप) होस् वा खाने औषधि।
६७ वर्षीय ताइवानी–अमेरिकी डाक्टर डेभिड र उनका एक दर्जन सहकर्मीले हङकङदेखि कोरोना संक्रमित रक्तकोषको पार्सल झिकाएको यही अनुसन्धान निम्ति हो।
उनीहरू ती रक्तकोषबाट विभिन्न सूक्ष्म तत्व झिकेर कोरोनासँग लड्ने ‘एन्टिबडी’ तयार पार्दैछन्।
‘यो भनेको माछा मार्न पोखरीमा बल्छी थापेजस्तै हो,’ डेभिड भन्छन्, ‘हामीले माछालाई बल्छीसम्म तान्न चारा तयार पारेका छौं, अब त्यो चाराले माछा लोभ्याउन सक्छ कि सक्दैन भन्ने परीक्षण गर्नुछ।’
डेभिडको प्रयोगशालाले विकास गरेको ‘चारा’ के हो भनेर बुझ्न यो भाइरसले कसरी हामीलाई बिरामी पार्छ भन्ने थाहा पाउनुपर्छ।
कोरोना भाइरसको सतहमा च्याउजस्तो ‘क्याप’ र डाँठ हुन्छ। यसले हाम्रो शरीरमा प्रचुर पाइने ‘फ्युरिन’ भन्ने रस प्रयोग गरेर आफ्नो सतहको त्यही च्याउजस्तो क्याप र डाँठ छुट्याउन थाल्छ। यसबाट भाइरसको गुणात्मक वृद्धि मात्र हुँदैन, हाम्रो शरीरको कोषिकाभित्र छिर्ने बाटो पनि खुल्छ।
डेभिड र उनका सहकर्मीले त्यही ‘फ्युरिन’ भनिने रसको छद्म रूप प्रयोगशालामा विकास गरेका छन्।
यो प्रयोग सफल भयो भने, कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्नेबित्तिकै त्यो छद्म रसले भाइरसलाई वरिपरिबाट घेरा हाल्नेछ। ‘एसयुभी’ गाडी दुर्घटना हुँदा एयर–ब्याग खुलेर चालक र यात्रुलाई जोगाएजस्तै यहाँ छद्म ‘फ्युरिन’ भाइरसको वरिपरि टाँसिन्छ। त्यसपछि न संख्या वृद्धि हुन्छ, न हाम्रो शरीरको कोषिकाभित्र छिर्ने बाटो खुल्छ।
अनि, कोरोना पराजित हुन्छ।
त्यहाँसम्म पुग्न धेरै समय लाग्नेछ, डेभिड भन्छन्, ‘यसको निम्ति थुप्रै छद्म तत्व विकास गरेर कुन चाहिँ प्रभावकारी हुन्छ दाँजेर हेर्नुपर्छ।’
उनका अनुसार, जुन छद्म रसले भाइरससँग चपक्क टाँसिएर त्यसलाई हलचल गर्न दिँदैन, त्यसले मात्र राम्ररी काम गर्न सक्छ।
समय लागे पनि यो अनुसन्धानले सकारात्मक नतिजा दिनेमा वैज्ञानिकहरू आशावादी छन्। विगतमा इबोला भाइरसविरुद्ध लड्न यो रणनीतिले काम गरेको थियो। अफ्रिकामा फैलिएको इबोला नियन्त्रण गर्न यही विधिबाट ‘एन्टिबडी’ विकास गरिएको डेभिड बताउँछन्।
कोरोनाविरुद्ध अनुसन्धानमा डेभिड र उनको टिमलाई चीनको ज्याक मा फाउन्डेसनले २१ लाख अमेरिकी डलर सहयोग गरेको छ। यसबाहेक अन्य निजी दाताहरूले ६० लाख डलर थप सहायता घोषणा गरेका छन्, जसमा ब्री बायोसाइन्स लगायत सरोकारवाला व्यवसायीहरू छन्।
अनुसन्धान सुरू भएपछि डेभिडको ‘आरोन डायमन्ड एड्स रिसर्च सेन्टर’ प्रयोगशालालाई न्यूयोर्ककै कोलम्बिया विश्वविद्यालयले आफ्नो आबद्धता दिएको छ। यसअघि उक्त प्रयोगशाला रकफेलर विश्वविद्यालयमा आबद्ध थियो।
झन्डै सवा लाख मान्छेको ज्यान लिएको र बीस लाखलाई संक्रमित पारेको कोरोना भाइरस परास्त गर्न ज्याक मा लगायत ठूल्ठूला कर्पोरेट क्षेत्रले डेभिड होलाई यसै पत्याएका होइनन्। उनलाई एचआइभी–एड्स अनुसन्धानमा संसारकै अग्रणी वैज्ञानिक मानिन्छ।
सन् १९८१ मा लस एञ्जल्सको सेडार्स–सिनाई अस्पतालमा छोटोछोटो सास फेरिरहेका एक युवा भर्ना भएका थिए। उनको छालाभरि प्याजी रङका दागले चिकित्सकहरूलाई अचम्म पारेको थियो।
२८ वर्षीय डेभिड त्यही अस्पतालमा मेडिकल रेजिडेन्ट थिए। उनले ती युवाको बायोप्सी गरे, सिटी–स्क्यान गरे। उनको फोक्सोमा ढुसी संक्रमण र बेग्लै खालको क्यान्सर पत्ता लाग्यो। यी दुवै लक्षण रोग प्रतिरोधात्मक क्षमता घट्नुसँग सम्बन्धित थिए।
डाक्टर डेभिडले बिरामी युवाको ‘मेडिकल हिस्ट्री’ केलाए। उनलाई विगतमा त्यस्तो कुनै रोग थिएन, जसले यो अवस्थामा पुग्नुको कारण खोतल्न मद्दत गरोस्।
रोगको चुरो पत्ता लाग्न नसकेपछि उनलाई एन्टिबायोटिक दिइयो र अस्पतालबाट डिस्चार्ज गरियो। केही समयमै उनको मृत्यु भयो।
केही महिनाभित्र उस्तै खालको लक्षण देखिएका पाँच जना बिरामी आए। डेभिड र उनका सहकर्मीले लक्षणसहित सबै विवरण खुलाएर रोग नियन्त्रण केन्द्रमा जानकारी गराए। यो एड्ससम्बन्धी पहिलो औपचारिक प्रतिवेदन थियो।
डेभिड प्रतिवेदन बुझाएर चुप लागेनन्। उनले यसमा थप अनुसन्धान गरे।
‘मान्छेहरू मलाई यस्तो अनुसन्धानमा समय खेर नफाल्न सुझाव दिन्थे,’ उनी भन्छन्, ‘म भर्खर आफ्नो करिअर सुरू गर्दै थिएँ। करिअरको सुरूआतमै यस्तो रहस्यमयी रोगका पछाडि लाग्दा कुनै उपलब्धिबिनै वर्षौं खेर जान सक्छ भन्ने मेरा शुभचिन्तकहरूको चिन्ता थियो।’
डेभिडले कसैका कुरा सुनेनन्। उनी त्यो रोगको रहस्य उधिन्नमा तल्लीन रहे।
सन् १९८० दशकभरिमा उनले एड्सबारे विभिन्न कुरा पत्ता लगाए। त्यसमा सबभन्दा खास थियो एचआइभी– अर्थात् एड्स गराउने भाइरस।
सन् १९९० मा डेभिड न्यूयोर्क आए र आरोन एड्स रिसर्च सेन्टरका निर्देशक भए। त्यति बेला उनी ३७ वर्षका थिए।
त्यसको एक वर्षपछि उनलाई लस एञ्जल्सबाट एक ‘विशेष बिरामी’ को उपचार गर्न निम्ता आयो। ती बिरामी थिए, अमेरिकाका चर्चित बास्केटबल खेलाडी एर्भिन जोन्सन।
डेभिड लस एञ्जल्स फर्के। उनले एर्भिनलाई ‘एचआइभी–पोजिटिभ’ भएको पुष्टि गरे।
अर्को साता एर्भिनले आफ्नो रोग सार्वजनिक गर्नुका साथै नेसनल बास्केटबल एसोसिएसनबाट संन्यास घोषणा गरे।
डेभिडले त्यसयता निरन्तर एर्भिनको उपचार गर्दै आएका छन्। एर्भिनले एक अन्तर्वार्तामा भनेका थिए, ‘एड्सले मेरो ज्यान लिन सक्छ भन्ने मैले कहिल्यै सोचिनँ, किनभने डेभिडले मलाई यो भाइरस नियन्त्रण गर्ने राम्रो औषधि बन्दैछ भनेर विश्वास दिलाएका थिए।’
नभन्दै सन् १९९४ मा डेभिडले के पत्ता लगाए भने, केही खास किसिमका औषधिले एड्स बिरामीको शरीरमा भाइरस संख्या नाटकीय रूपले घटाउन सक्छ। यसमा एउटा समस्या भने थियो। एचआइभी भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै एकदमै छिटो वृद्धि हुन थाल्थ्यो। यो वृद्धि रोक्न एउटा मात्र औषधि पर्याप्त थिएन।
डेभिड र उनको टिमले तीन वा चार औषधिको ‘ककटेल’ बनाउने आइडिया अघि बढाए, जसले एचआइभी भाइरसको वृद्धिलाई काबूमा लिन महत्वपूर्ण भूमिका खेल्यो।
यही अनुसन्धानका कारण सन् १९९६ मा डेभिडलाई ‘टाइम’ पत्रिकाले ‘वर्ष व्यक्ति’ घोषणा गर्यो। त्यसको पाँच वर्षपछि उनी राष्ट्रपति नागरिक सम्मानले विभूषित भए। उक्त सम्मान पदकले उनको अफिसको शोभा बढाएकै छ।
एचआइभी–एड्सका विज्ञ अनुसन्धाता मानिए पनि डेभिडको योगदान यतिमै सीमित छैन।
सन् २००२ नोभेम्बरमा चीनमा ‘सार्स’ भनिने श्वासप्रश्वाससम्बन्धी रोग फैलियो। यसको कारण ‘सार्स–सिओभी’ प्रजातिको कोरोना भाइरस थियो। चीन सरकारले यो रोगसँग लड्ने औषधि विकास गर्न डेभिडसँग मद्दत माग्यो।
उनी अमेरिकाबाट चीनको बेइजिङ पुगे।
‘म बेइजिङ पुग्दा साँझ पर्दै थियो,’ उनी सम्झन्छन्, ‘एयरपोर्टबाट होटल जाँदा मेरो कार तियानमेन स्क्वायर हुँदै गुज्रियो। केही वर्षअघि यही ठाउँमा विद्यार्थीहरू चीन सरकारविरुद्ध आन्दोलित थिए। उनीहरूले निहत्था चिनियाँ सेनाको ट्यांकसँग सामना गरेको तस्बिर संसारभरि भाइरल भएको थियो।’
‘जति बेला म तियानमेन स्क्व्यारको सेन्टरमा थिएँ, दस वा बाह्र लेनको त्यो बाटोमा जम्मा दुइटा गाडी थिए। एउटा म चढेको कार र अर्को सायद सार्सका बिरामी ओसारिरहेको एम्बुलेन्स,’ उनले भने।
संसारकै शक्तिराष्ट्र बन्ने दौडमा अग्रपंक्तिको चीनलाई सन्नाटामा डुबाउने त्यति ‘शक्तिशाली’ कोरोना भाइरसप्रति डेभिडको रुचि बढ्यो। उनले चीनका विभिन्न सहर घुमेर संक्रमित बिरामीलाई नजिकबाट हेरे। उनीहरूमा देखिने लक्षण र ती लक्षण कसरी बल्झँदै जान्छन् भन्ने विस्तृत अध्ययन गरे।
न्यूयोर्क फर्केपछि डेभिडले कोरोना भाइरसमाथि अनुसन्धान सुरू गरे। उनका अनुसार, प्रायः कोरोना संक्रमणले मान्छेलाई सामान्य रुघाखोकी र मर्की हुन्छ, तर केही प्रजातिका कोरोना भाइरस भने प्राणघातक हुन्छन्। सार्स तिनैमध्ये एक हो।
उनी यता न्यूयोर्कमा अनुसन्धान गर्दै थिए, उता जुलाई २००३ मा सार्स महामारी अन्त्य भयो।
महामारी नै सकिएपछि डेभिडलाई अनुसन्धान बढाउन आर्थिक स्रोत सुक्यो। उनलाई आर्थिक सहायता कबुलेका दाताहरूले एक वर्षभित्रै हात झिके। उनलाई उक्त अनुसन्धान गर्न कम्तिमा दुई करोड डलरको खाँचो थियो, जुन उनले कसैगरी जुटाउन सकेनन्।
‘यस्तो अनुसन्धानमा करोडौं रकम लाग्छ। कुनै राज्य वा कर्पोरेटले आर्थिक सहायता गरेन भने म चाहेर पनि एक्लै अनुसन्धान अघि बढाउन सक्दिनँ,’ डेभिड भन्छन्, ‘सार्स महामारी अन्त्य भएपछि कोरोना भाइरसविरुद्धको हाम्रो अनुसन्धान पनि यसै बन्द भयो। हामी त्यो काम थाती राखेर एचआइभीमै केन्द्रित भयौं।’
चीनबाट सुरू सार्सले संसारभरि जम्मा ७७४ जनाको प्राण लियो। जबकि, एचआइभी–एड्सले ज्यान लिने क्रम जारी छ। यसमा अनुसन्धान गर्न बजेटको कमी छैन। अहिलेसम्म संसारभरिका ७ करोड ५० लाख मान्छे एचआइभी–एड्स संक्रमित छन् भने ३ करोड २० लाखभन्दा बढीको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारभरिका झन्डै ४ करोड मान्छे एचआइभीसँग जुधिरहेका छन्।
डेभिड त कोरोना भाइरसलाई सर्लक्कै छाडेर एचआइभीमा लागे, तर कोरोनाले आफ्नो कहर देखाउन छाडेन।
सन् २०१२ मा कोरोना भाइरसको अर्को प्रजाति मर्स–सिओभीले अरब क्षेत्रमा अर्को महामारी ल्यायो। पच्चीस सयभन्दा बढी मानिस संक्रमित भए, आठ सयभन्दा बढीको प्राण गयो।
एकचोटि अनुसन्धानमा हात हालिसकेका डेभिड चनाखा भए। उनले ‘मर्स’ लाई मिहिन पछ्याए। तर, यसपालि पनि महामारी छिट्टै साम्य भयो।
त्यसको करिब आठ वर्षपछि गएको डिसेम्बर अन्त्यमा चीनको वुहानबाट सार्सजस्तै लक्षण देखाउने, तर त्योभन्दा कयौं गुणा भयानक कोरोना भाइरसको नयाँ प्रजाति ‘सार्स–सिओभी–२’ को महामारी सुरू भयो।
‘म वंशाणुगत रूपले नै चीनसँग नजिक छु। चीनमा हुने हरेक घटनाले मलाई तान्छ। झन् रोगव्याधीको कुरा भए त म अलग रहनै सक्दिनँ,’ डेभिड भन्छन्, ‘मैले सुरूदेखि यसपालिको महामारी नजिकबाट हेर्दै आएको थिएँ। अघिल्लोचोटिको अनुभवले अनुसन्धानमा हात हाल्न हच्किरहेको थिएँ।’
यही क्रममा एकदिन उनी आफ्नो प्रयोगशालामा काम गरिरहेका थिए। ‘इ–कमर्स’ क्षेत्रमा संसारकै एक अग्रणी कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उनलाई सम्पर्क गरे। भने, ‘कोरोना भाइरसविरुद्धको अनुसन्धानमा म कसरी तपाईंलाई मद्दत गर्न सक्छु?’
यहीँबाट सुरू भयो, डेभिड र उनको टिमको कोरोना मिसन।
यो ‘मिसन’ सुरू हुनुमा कोभिड–१९ मुख्य कारण भए पनि यसको उद्देश्य दीर्घकालीन छ। अनुसन्धाताहरूले वर्तमान महामारी मात्र होइन, भविष्यमा आउनसक्ने अर्को महामारीसँग लड्ने तयारीका रूपमा यसलाई हेरेका छन्।
कोभिड–१९ त ढिलोचाँडो साम्य होला, त्यसपछि के? के यो संकटबाट पार पाउनु भनेको सबै किसिमका महामारीको भयबाट मुक्त हुनु हो?
डेभिडका अनुसार आगामी दिनमा नयाँ महामारी ल्याउने कारण अर्को कुनै प्रजातिको भाइरस नै हुनेछ।
सभ्यता इतिहास हेर्ने हो भने विगतमा यस्तै त्रास ब्याक्टेरियाको थियो। एन्टिब्याक्टेरियाको विकासपछि त्यो त्रास धेरै हदसम्म नियन्त्रणमा आयो।
ढुसी पनि विभिन्न रोगको कारण हो, तर त्यसले मान्छेजस्तो तातो रगत भएका जीवको ज्यान लिने जोखिम निम्त्याउँदैन। प्रोटोजोवा? विगतमा प्रोटोजोवाका कारण हुने मलेरिया रोगले धेरै मानिसको ज्यान गएको इतिहास छ। विश्वको आधाभन्दा बढी जनसंख्या मलेरियाको शिकार भए।
तर, प्रोटोजोवा आफैं एक व्यक्तिबाट अर्कोमा सर्दैन। यसलाई बोकेर हिँड्ने बाह्य साधन चाहिन्छ। लामखुट्टे, झिँगा लगायत कीराहरूले त्यो साधनको काम गर्छन्। मान्छेले लामखुट्टे र झिँगाबाट बच्न अनेक उपाय जानिसकेका छन्।
यी सबैमध्ये अपवाद हो, भाइरस। एकचोटि शरीरमा प्रवेश गरिसकेपछि यसको संख्या तीव्र गतिले बढ्दै जान्छ। सबभन्दा डरलाग्दो त, यो जनावरबाट मान्छेमा सर्छ, एउटा मान्छेबाट अर्को मान्छेमा पनि सर्छ। अझ हामीले फेर्ने सासबाटै एकअर्कामा सर्न सक्छ।
भन्नुको मतलब, हामी जतिसुकै सफासुग्घर बसे पनि र जतिसुकै सतर्क भए पनि भाइरल संक्रमणबाट पूर्ण रूपमा सुरक्षित रहन सक्दैनौं।
यति डरलाग्दो स्वभावको जीवाणुसँग लड्न हामीसँग औषधि भने सीमित छ। ब्याक्टेरियाले हमला गर्यो भने हामी थुप्रै किसिमका एन्टिबायोटिक खान सक्छौं। सिप्रोफ्लोक्जासिनदेखि एमोक्सिलिनसम्मका एन्टिबायोटिक उपलब्ध छन्। तर, भाइरस हाम्रो चिकित्सकीय क्षमताभन्दा बढी शक्तिशाली छ।
अहिलेसम्म हामीलाई बिरामी पार्ने मोटामोटी दुई सय भाइरस पहिचान भएका छन्, जबकि भाइरसविरुद्धको औषधि दसवटा मात्र छ।
यति मात्र होइन, चिकित्सा विज्ञानले पत्ता लगाएका एन्टिभाइरल औषधिको दायरा पनि फराकिलो छैन। एउटा निश्चित प्रजातिको भाइरससँग लड्न सक्ने एन्टिभाइरल त्यही प्रजातिको अर्को भाइरससामु कमजोर सावित हुन्छ। उही भाइरसको फरक–फरक अवस्थालाई पनि एउटै एन्टिभाइरलले निको पार्न सक्दैन।
यसको मतलब, हरेकचोटि नयाँ भाइरसले आक्रमण गर्दा चिकित्सा विज्ञानले नयाँ उपचार विधि खोज्नुपर्छ, नयाँ औषधि पत्ता लगाउनुपर्छ।
विगतमा सार्स नियन्त्रण गर्न कुनै औषधि पत्ता लगाइएको भए पनि त्यसले कोभिड–१९ निको पार्न सक्दैनथ्यो। रोग बल्झिन नदिन केही न केही सहयोग अवश्य पुर्याउँथ्यो होला, तर त्यसले सबै बिरामीलाई फाइदा पुग्थ्यो भन्ने ग्यारेन्टी छैन।
वैज्ञानिकहरूले अबको १८ महिना वा एक वर्ष लगाएर कोभिड–१९ विरुद्ध खोप वा औषधि पत्ता लगाएछन् भने पनि त्यो खोप वा औषधि अर्को कुनै महामारीमा काम नलाग्न सक्छ।
संसारका हरेक भाइरल वैज्ञानिकजस्तै डेभिड र उनको टिम यस्तो इञ्जेक्सन वा क्याप्सुल बनाउन चाहन्छन्, जसले जुनसुकै प्रजातिको भाइरस संक्रमण निर्मूल पार्न सकोस्।
‘हाम्रो यो अनुसन्धान त्यसैतर्फ लक्षित छ। अर्को महामारीसम्म हामीले नयाँ पुस्ताको एन्टिभाइरल बनाउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘त्यसपछि बल्ल भाइरस र मानिसबीच चल्दै आएको ‘चोर–पुलिस’ को खेल अन्त्य हुनेछ।’
यसमा चीनका वैज्ञानिकहरूले धेरै काम गरेका छन्। बेइजिङ, हङकङ, सांघाईका ती वैज्ञानिकमध्ये अधिकांश डेभिडकै पूर्वविद्यार्थी हुन्। ‘उनीहरू यो क्षेत्रमा पारंगत छन्,’ उनले भने।
यसपालि चीन सरकार पनि कोरोनाविरुद्धको अनुसन्धानलाई दीर्घकालीन रूपले अघि बढाउन गम्भीर छ भन्ने डेभिडको विश्वास छ।
‘चीनले पाठ सिकिसकेको छ, अब महामारी साम्य भए पनि अनुसन्धान बीचैमा अलपत्र नपर्ला,’ उनले भने, ‘म त्यही भएर लामो योजना बनाएर यो मिसनमा सामेल भएको छु।’
कोभिड–१९ संसारभर फैलिए पनि विगतका अन्य महामारीको दाँजोमा यसको मृत्युदर कम छ। सन् १९१८ को फ्लूले कम्तिमा ५ करोड मान्छेको मृत्यु भएको थियो। त्यसको तुलनामा कोभिड–१९ एकदमै छिटो र सजिलै सर्छ। संसारका एक प्रतिशत मान्छेमा सर्यो भने पनि ७ करोड ५० लाख मान्छे संक्रमित हुनेछन्। त्यति बेला अहिलेको मृत्युदरका आधारमा गणना गर्दा कम्तिमा १० लाखको ज्यान जानेछ।
डेभिडको न्यूयोर्क प्रयोगशालाका वैज्ञानिकदेखि जोन्सन एन्ड जोन्सन, फाइजर, रिजेनेरोन लगायत कम्तिमा दसवटा औषधि तथा बायोटेक कम्पनीहरू सबै त्यही ‘चोर–पुलिस’ को खेलमा लागेका छन्। उनीहरूले जति छिटो अनुसन्धान टुंगोमा पुर्यायो, मृत्युसंख्या त्यति कम हुनेछ।
वैज्ञानिकहरूलाई यो भाइरस काबूमा लिन सकिन्छ भन्नेमा शंका छैन। तर, त्यो भनेको कम्तिमा एक वर्ष वा अझ बढी हो। त्यति बेलासम्म शारीरिक दुरी र साबुनपानीले सुरक्षित रहनुको विकल्प छैन।
उपचार पत्ता लागिसकेपछि पनि कोभिड– १९ हामीले सोचेभन्दा लामो समय हामीसँगै रहने वैज्ञानिकहरूको भनाइ छ। संसारका सबैजसो मुलुकमा यो हदसम्म फैलिएको भाइरसलाई यति सजिलै निमिट्यान्न पार्न नसकिने उनीहरू बताउँछन्।
‘अहिलेसम्म हामीले जम्मा एउटा भाइरस परास्त गरेका छौं– बिफर,’ डेभिडले भने, ‘त्यसका लागि पनि हामीलाई २० वर्ष लाग्यो।’
उनका अनुसार, कोरोना भाइरस निर्मूल पार्ने प्रारम्भिक चरणको औषधि विकास गर्न पाँचदेखि दस वर्ष लाग्नसक्छ। खुसीको कुरा के भने, एउटा औषधि जनावरमा परीक्षणमा गर्न तयार छ। तर, उनी यतिमै खुसी छैनन्।
‘हरेकचोटि नयाँ भाइरस देखिँदा नयाँ अनुसन्धान गर्ने र नयाँ औषधि बनाउने होइन, म एन्टिबायोटिकजस्तै यस्तो औषधि बनाउन चाहन्छु, जसले अहिलेको कोरोना भाइरस र भविष्यका अन्य भाइरल महामारी निको पारोस्,’ डेभिडले भने।
उनले अगाडि भने, ‘हामी अहिले चमेरामाथि भएका विभिन्न अनुसन्धान अध्ययन गर्दैछौं। संसारका स्तनधारी जनावरमध्ये २० प्रतिशत चमेरा छन्। चमेराको शरीरमा धेरै भाइरस छन्, जसले फेरि फेरि मानव समुदायमा महामारीको रूप लिनसक्छ।’
सार्स, इबोलो र कोभिड–१९ पनि चमेराबाटै सुरू भएका हुन्।
अनुसन्धान बढ्दै जाँदा संसारका नामी औषधि कम्पनीहरू पनि आबद्ध हुने अपेक्षा गरिएको छ। आखिर औषधि परीक्षण र उत्पादन गर्ने भनेका तिनै कम्पनीले हो। डेभिड आफैं पनि कुनै समय बेलायती औषधि उत्पादक 'ग्ल्याक्सो स्मिथ क्लाइन' मा सरुवारोग विशेषज्ञ थिए। अहिलेसम्म उनको औषधि कम्पनीहरूसँग औपचारिक सम्झौता भने भइसकेको छैन।
डेभिडको अनुसन्धानमा २० लाख डलर सहायता गरेका ब्री बायोसाइन्सका प्रमुख कार्यकारी झी होङ सकारात्मक नतिजा निस्कनेमा आशावादी छन्।
‘हामीले डेभिडको प्रतिष्ठा र विश्वास हेरेर लगानी गरेका हौं,’ उनले भने, ‘हामीले उहाँलाई यति मात्र भनेका थियौं, आउनुस् पैसा लिएर जानुस्।’
डेभिड पहिलो चरणमा 'एन्टिबडी' विकास गर्न चाहन्छन्, जसले कुनै पनि भाइरसलाई हाम्रो शरीरको कोषमा छिर्न बाटो दिँदैन। यो एन्टिबडीले कोभिड–१९ बाट पनि हामीलाई सुरक्षित राख्नेछ। एचआइभी–एड्सविरुद्धको अनुसन्धानमा उनले यस्तै खालको एन्टिबडी बनाएका थिए, जसले भाइरसलाई गुणात्मक वृद्धि हुनबाट रोक्छ।
कोलम्बिया विश्वविद्यालयका सहायक प्राध्यापक एलेजेन्ड्रो चाभेज पनि डेभिडको यो अनुसन्धानमा संलग्न छन्। ३७ वर्षीय चाभेज कोलम्बियामै आफ्नो प्रयोगशाला चलाउँछन्।
गत जनवरीमा चाभेज र डेबी होङ भन्ने अर्का पिएचडी विद्यार्थी प्रयोगशालामा बसेर कोरोना भाइरसबारे कुरा गर्दै थिए। जब यो भाइरसको संरचनात्मक नक्सा जनस्वास्थ्यसम्बन्धी वेबसाइटमा आयो, उनीहरूले ८० डलर तिरेर नक्सा डाउनलोड गरे।
संयोगकै कुरा, त्यसलगत्तै चाभेजलाई डेभिडको फोन आयो।
‘डेभिड आफ्नो अनुसन्धान निम्ति नयाँ टिम बनाउँदै रहेछन्,’ चाभेजले खुसी हुँदै भने, ‘म उनको टिममा थिएँ।’
उनका अनुसार, अहिलेसम्मको अनुसन्धानबाट कोरोना भाइरससँग जुध्ने जुन एन्टिबडी तत्व विकास भएको छ, त्यसलाई परीक्षणमा लैजान एक महिना लाग्नसक्छ। यसबीच उनीहरू त्यस्तै प्रकृतिका अन्य एन्टिबडी विकास गर्नेछन्।
‘तीन दशकमा यो कोरोना भाइरसको तेस्रो ठूलो महामारी हो। आज कोभिड–१९ जस्तै भोलि अर्को महामारी आउनेमा शंका छैन। अहिले एउटालाई जितेर सुख छैन, भोलि फेरि अर्को भाइरसको त्रासले सडक खाली हुनेछ। मान्छेहरू घरभित्र थुनिनेछन्। संसारमा फेरि मृत्युको भय मडारिनेछ,’ डेभिड हो भन्छन्।
‘हामी भाइरसलाई सधैं सधैंका लागि परास्त गर्न दीगो समाधान खोज्ने अभियानमा छौं।’