केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी-अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए।
उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्दछ। अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो।
प्रिमनसुनको समयमा पनि पर्याप्त वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको बताइएको छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गत वर्ष आजकै दिन काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री थियो हाल देशको केही स्थानमा सामान्य बदली भई वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रातको समयमा देशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
भोलि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मङ्गलबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव छ डिग्री सेल्सियस रहेको छ।
(रासस)