काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गरेका छन्।
प्रमुख शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ रक्तदान गरेका हुन्।
‘यो क्लवको स्थापना भएदेखि नै हरेक वर्ष रक्तदान गर्दै आएको छु। यो मेरो ५० औँ पटकको रक्तदान हो’ सोही वडाका स्थानीय वासिन्दा समेत रहेका शाक्यले भने, ‘क्लवले ०४४ सालदेखि नियमित रक्तदान आयोजना गर्दै आएको छ। अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो।’
मेयर शाक्यसँगै ८० स्थानीयले रक्तदान गरेको क्लबले जनाएको छ।
केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) की निर्देशक डा. मनिता राजकर्णिकारले पनि लकडाउनका बेला रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रगत संकलनको गर्ने गरेको बताइन्।
‘आज काठमाडौँ महानगरपालिकाको वडा–२१ को गणेश युवा क्लबमा गरिएको रगत संकलन पनि त्यसैको निरन्तरता हो,’ राजकर्णिकारले भनिन्, ‘रक्तदान गर्दा सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले मात्रै रक्तदान गर्न सक्ने व्यवस्था गर्दै आएका छौँ। आज पनि ती सबै उपाय अपनाएर रगत संकलन गरेका छौँ।’
लकडाउनको पूर्ण पालना गर्दै रगत दान गर्न सकिने उनको भनाइ छ।