सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका क्रममा करीब एक महिनादेखि अलपत्र परेका एक पर्यटकको उद्धार गरिएको छ।
गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो।
युवा विकास केन्द्रको आपतकालिन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए।
मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए।
उनलाई चैत २२ गते प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाँदबारीमा राखेको थियो।
सुहोनियाकिनलाई आइतवार पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ।
उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर आइतवार नै काठमाडौं पठाइएको युवा विकास केन्द्रको सङ्खुवासभाका संयोजक विजय कार्कीले बताए।
(रासस)