धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा वितरण गरेको राहत चामलको गुणस्तर परीक्षण र छानबिनमा गुणस्तरहीन भेटिएपछि चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई जरिमाना गरेको छ।
वडाका केही स्थानीयले राहतअन्तर्गत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थियो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका निरीक्षक कमलबहादुर पुन मगरले छानबिनपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर देखिएकाले चामलको आपूर्तिकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई दुई लाख रूपैयाँ जरिमाना गराइएको बताए।
तोकिएको जरिमाना सात दिनसम्म दाखिला नगरेमा कारोवार बन्द गरी कारवाही अगाडि बढाउने व्यवस्था रहेको निरीक्षक पुनको भनाइ छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षक दीपक कुँवरले गलत गर्ने जो कोहीलाई पनि कारवाही गर्ने जिम्मेवारी आफूहरुको भएको बताए।
यसैबीच गरिब तथा मजदुर वर्गलाई गुणस्तरहीन चामल वितरण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नं वडा कमिटीले धनगढी उपमहानगरपालिका–२ को कार्यालयमा मङ्गलबार तालाबन्दी गरेको छ।
सरकारले तोकेको मापदण्ड र मानवता नै बिर्सिएर गुणस्तरहीन राहत वितरण भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको पार्टीका वडा कमिटी संयोजक विष्णु पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
(रासस)