आफ्नै छिमेकीको हत्या गरेर फरार भएका महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्।
गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधवार प्रहरीले पक्राउ गरेको हो।
दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह गत आइतवार (वैशाख–२८ गते) दिनभरीसँगै रक्सी खाएर मातेपछि भनाभन गर्दै मकैबारीमा पसेका थिए।
त्यहीँ नै भनाभन बढ्दै जाँदा हातमा बोकेको बाँसको लठ्ठीले ठाकुरलाई साहले हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार भएका साहलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले घटनाको तीन दिनपछि लुकिरहेको ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ गरिएका साहले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।
साहलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइ म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
कुनै नियोजित षड्यन्त्र बेगर नै रक्सी खाएर मातेपछि घटना भएको अहिलेसम्मको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ।
(रासस)