उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन्।
बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
चटयाङले सुनुवारको छाती डढेको छ।
गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए।
उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिएका छन्।
(रासस)