रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन्।
कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वारेन्टिनमा बसेका थिए।
एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो। अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन्।
दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेको बेलहियाका रामबहादुर बस्नेतले बताए।
आज स्वदेश फिर्ता भएका १६५ नेपालीलाई देवदहस्थित क्वारेन्टिनमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।
सीमा क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाई लिन पुगेका थिए।
यसैबीच नेपालका विभिन्न क्वारेन्टिनमा बसेका १३२ भारतीय घर फर्केका छन्। स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो।
शुक्रबार मात्रै भारतबाट २३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए।
शुक्रबार आएकामध्ये २१३ जना कञ्चन गाउँपालिका र २६ जनालाई सिद्धार्थनगर नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो।
बेलहिया नाकाबाट यसअघि पहिलो चरणमा ३१०, दोस्रो चरणमा ४९५, तेस्रो चरणमा २३९ र चौथो चरणमा १६५ जना प्रवासी घर फर्केका छन्।
(रासस)