लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ।
हात्तीले घर भत्काई अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए।
चार वर्ष अघि श्रीमतीको मृत्युपछि विश्वकर्मा घरमा एक्लै बस्दै आएका छन्।
रुपनी गाउँपालिका–६ मा हात्तीको समूहले बिहीबार राति दीपककुमार तामाङको घर भत्काएको छ। घर तोडफोड गरी खाद्यान्नलगायतका सामग्री नष्ट गरेपछि तामाङ परिवारको दैनिकी कष्टकर बनेको छ।
मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको दीपककी श्रीमती हीराले बताइन्।
घर छाडेर भागेपछि हात्तीले चामल, मकै, पिठो, कोदो, सोलार, टिनको बाकस र घरसहित गरी दुई लाख रूपैयाँ बराबरको क्षति गरेको पीडितले बताए।
लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितहरु बताउँछन्।
सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आङ्तक बढेको छ।
आरक्षबाट आएको तीनवटा हात्तीको समूहले वैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो।
अग्निसाइर कृष्ण सवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको थियो।
वैशाखकै तेस्रो साता सोही गाउँपालिका–२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो।
दिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको छ।
हात्तीले घर पनि भत्काएको र खाने सामग्रीसमेत नष्ट गरिदिएकाले एकैसाथ पेट भर्ने र ओत लाग्ने समस्या भएको विश्वकर्माले बताए।
(रासस)