रोल्पा जिल्ला अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु भएको छ। उनको सोमबार बेलुकी ४ बजेतिर निधन भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले सेतोपाटीलाई जानकारी दिए।
दुई वर्षदेखि मिर्गौला रोग लागेका उनी काठमाडौंमै बसेर महाराजगन्जस्थित टिचिङ अस्पतालमा डायलासिस गर्दै आएका थिए। रोल्पा- १ बाजविसौनाका उनलाई बुवाले ट्याक्सीमा रोल्पा लगेका थिए। उनीहरू आइतबार राति १० बजे रोल्पा पुगेका हुन्।
'उहाँहरू ट्याक्सीमा आउनुभएको थियो। जिल्ला बाहिरबाट आएकाले सिधै अस्पतालको आइसोलेसनमा भर्ना गरेका थियौं,' मेयर केसीले भने।
उनले सोमबार युवकको र्यापिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको बताए। मृत्युपछि उनको स्वाब परीक्षणका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
मेयर केसी भन्छन्, 'हामीले अहिले केही भन्न सक्दैनौं। भोलि पिसिआर टेस्टको नतिजा आएपछि उहाँमा कोरोना भए/नभएको यकिन हुन्छ।'
अहिले युवकको शव जिल्ला अस्पतालमै राखिएको छ।