सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।
योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।
आजै बिहान ९ जना, दिउँसो ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसैले सोमबार एकैदिन ८० नयाँ संक्रमित थपिएका हुन्।
यसअघि एकैदिन सर्वाधिक ८३ जनामा संक्रमण देखिएको थियो।
दैलेखका एक पुरुषमा पनि संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण देखिएको छ। यसअघि प्रदेशभर एउटा पनि संक्रमण फेला परेको थिएन।
योसँगै सात वटै प्रदेशमा कोरोना संक्रमण देखिएको छ।
नेपालमा कोरोनाबाट अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।