नेपालकै कान्छो जिल्ला रूकुम पूर्वमा बुधबार तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो।
कोरोना संक्रमण पुष्टि भएको २४ घन्टा बित्न लाग्दा पनि संक्रमितलाई अस्पताल ल्याउन सकिएको छैन।
किन?
किनकी जिल्लामा बिरामी बोक्ने एम्बुलेन्सको अभाव छ। उक्त जिल्लाभरि नै दुइटामात्र एम्बुलेन्स छन्।
रूकुम पूर्वका कोरोना फोकल पर्सन देविलाल पौडेलका अनुसार जिल्ला अस्पतालको एम्बुलेन्स उकालो चढ्न नसक्ने अवस्था छ।
जिल्ला अस्पतालको एम्बुलेन्स जान नसक्ने भएपछि संक्रमितलाई ल्याउन पुँवार थापाको नामबाट सञ्चालित संस्थाको एम्बुलेन्स पठाइएको छ।
‘बिहानै एम्बुलेन्स पठाएका हौं। बिरामी भएको ठाउँसम्म पुग्न सदरमुकामबाट ४ घन्टा बढी लाग्छ,’ पौडेलले भने ‘अनि यहाँबाट दाङको तुलसीपुर जान एम्बुलेन्सलाई कम्तिमा ८-९ घन्टा लाग्छ।’
रूकुम पूर्वमा तीन वटा स्थानीय तह छन्। सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकामध्ये कसैसँग पनि एम्बुलेन्स छैन।
संस्थाको एम्बुलेन्सका चालकले बिरामी ल्याउन जान नमानेकाले संक्रमितलाई अस्पताल पुर्याउन ढिलाइ भएको फोकल पर्सन पौडेलले बताए।
‘चालकले कारोना संक्रमित व्यक्तिलाई लिन जाँदै जान्न भन्ने अडान लिएर बसे,’ पौडेलले भने, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैले धेरैबेर सम्झाएपछि र पिपिईलगाएत सबै स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि मात्रै जान माने।’
रूकुम पूर्वका बिरामीलाई ल्याएर जिल्ला अस्पतालमा राखिने छैन। बरू एम्बुलेन्सलाई नै ८-९ घन्टा लाग्ने दाङको बेलझुण्डी कोरोना विशेष अस्पताल लगिनेछ।
किन यति टाढा बिरामी पठाउनु परेको? भन्ने प्रश्नमा फोकल पर्सन पौडेलले जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटरको सुविधा नभएको हुँदा दाङ पठाउनु परेको जानकारी दिए।
‘यहाँ जिल्लामा कतै पनि आइसियू र भेन्टिलेटरको सुविधा छैन,’ पौडेलले भने, ‘पहिलो केस भएको हुँदा के-कस्तो हुन्छ भन्ने हामीलाई पनि अनुभव छैन। बिरामीलाई थप समस्या भए अप्ठेरो नहोस् भने दाङ पठाउनु परेको हो।’
रूकुम पूर्वमा ६ बेड क्षमताको आइसोलेन वार्डमात्रै निर्माण गरिएको छ। बेडको संख्या ६ भए पनि त्यहाँ तीन जना बिरामीलाई मात्रै राख्न मिल्ने भएकाले बिरामी दाङ पठाइएको पौडेलले बताए।