बिहीबार दाङमा २ र कपिलवस्तु जिल्लामा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा ११ जनामा रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन्।
संक्रमितमध्ये दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरूष र गढवा २ मा ४१ वर्षीय अर्का एक पुरूषमा कोरोना संक्रमण देखिएको छ।
उनीहरू छिमेकी देश भारतबाट आएपछि स्थानीय क्वारेन्टिनमा बसेका थिए। योसहित दाङ जिल्लाका २२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये १ जना निको भएर घर गइसकेका छन्।
बिहीबार नै प्रतिष्ठानको रिपोर्ट अनुसार कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० वर्षका पुरूष, वडा नं. ५ का २६ वर्षीय एक पुरूष र वडा नं. ७ का १७, ३७,३९,४०,४३ र ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारसम्म २ हजार १ सय ४६ रिपोर्ट परीक्षण गरिएकोमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले बताए। योसँगै नेपालमा १ हजार ५३ जना कोरोना संक्रमित छन्।