दाङ तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पालमा शुक्रबार बिहान ११ बजेभन्दा अघिदेखि नै मानिसहरूको चहलपहल सुरू भयो। सञ्चारकर्मीको पनि बाक्लै जमघट थियो।
अस्पतालले जिल्लामै पहिलो पटक कोरोना जितेर घर फर्किन लागेका आठ जना व्यक्तिको बिदाई गर्ने सूचना जो दिएको थियो।
त्यसमा एक दाङमै परीक्षण भएकामध्ये पहिलो संक्रमित व्यक्ति पनि थिए। जिल्लावासी त्यो खबर कतिबेला सार्वजनिक होला भनेर उत्सुकतापूर्वक प्रतीक्षारत थिए।
वैशाख अन्तिममा पहिलो पटक बर्दियाकी एक ११ वर्षीया संक्रमित बालिकालाई उपचारका लागि दाङको बेलझुण्डी ल्याउन खोज्दा सामाजिक खरो विरोधमा उत्रिएकाहरू पनि सञ्जालमार्फत् खुसी साटिरहेका देखिए।
शुक्रबार मध्यान्हतिर बेलझुण्डी अस्पतालमा बेग्लै चहलपहल थियो। चिकित्सक, स्वास्थ्यकर्मी खादा, फूल लिएर उभिएका देखिन्थे। १४ दिनको उपचारपछि निको भएर घर जानेमध्ये बाँकेका ३ र कपिलवस्तुका ४ जना पनि थिए।
अस्पतालबाट बाहिर निस्कनेहरूको अनुहारमा बेग्लै चमक र खुसी छाएको महशुस हुन्थ्यो। मास्कले नाक मुख छोपे पनि आँखाले त्यो बोलिरहेको आभास हुन्थ्यो। अस्पतालभित्रबाट पालैपालो निस्कनेहरूलाई चिकित्सक, स्वास्थ्यकर्मी र केही सर्वसाधारण मानिसहरूले समेत खादा लगाइदिए।
हातमा पुष्पगुच्छा थमाउँदै निरोगी र सुखद भविष्यको कामना गर्दै शुभकामना दिइरहेका थिए।
तीमध्ये एक बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ३ का २५ वर्षीय जीत बहादुर पनि कोरोनालाई जितेर घर फर्किन पाउँदा निकै प्रफुल्लित थिए।
उनले कोरोनाबारे जति अफवाह फैलिएको छ त्यो गलत भएको बताए।
‘यो लागि सकेपछि मान्छे बाँच्नै गाह्रो हुन्छ,बच्दैन होला भन्ने तरिकाको जुन अफवाह छ नि त्यो हैन,’ जीत बहादुरले भने, ‘ यसलाई जितेर बाँच्न सकिन्छ। बरु यसलाई लापरबाही गर्नु भएन।’
कोरोना लागेपछि कसरी त्यसलाई हराउन सकिन्छ भनेर सबभन्दा पहिलो स्वयं व्यक्तिले नै बाटो औंल्याउनुपर्ने उनको सुझाव छ।
उनले आफूलाई कोरोना लागेको अनुभूति समेत नभएको बताए।
‘मलाई कोरोना लागेको जस्तै लागेन, बरु कसरी यो लाग्यो भन्ने आत्मग्लानी भने भयो,’ जीत बहादुरले भने,‘कोरोना लागेर सिध्दि नै लागेको जस्तो मनमा कहिल्यै भएन।’
उनले संक्रमण कहाँबाट भयो? भन्ने कुरा आफैं थाहा पाउन नसकेको प्रतिक्रिया दिए।
छिमेकी देश भारतको गोरखपुरमा रोजगारीका लागि पुगेका उनी संक्रमण नहोस् भनेरै साइकलबाट आएका रहेछन्। तर प्रशासनले उनलाई बोर्डरमा रोक्यो। भारतकै क्वारेन्टिनमा लगेर राख्यो। जहाँ क्वारेन्टिन अत्यन्तै अव्यवस्थित थिए। त्यहीँबाट संक्रमण भयो कि, एम्बुलेन्समा प्रशासनले जबरजस्ती पाँच जना हालेर पठाउँदा त्यसैबाट संक्रमण भयो भन्ने उनी निश्चिन्त हुन सकेका छैनन्।
जीतबहादुरले तुलसीपुरको बेलझुण्डी अस्पतालको आइसोलेसन भने त्यहाँको तुलनामा निकै व्यवस्थित रहेको बताए।
खानेकुरा राम्रो दिएको तथा समय समयमा स्वास्थ्यकर्मी सोधपुछ गर्न आउने गरेको उनले बताए।
बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्यसचिव डा. सर्वेश शर्माले लगातार दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
डिस्चार्ज भएर घर फर्किएकाहरूमा दाङको गढवा गाउँपालिकाका वडा नं. ४ का ३६ वर्षीय एक युवा, कपिलवस्तु जिल्लाको कृष्णनगर २ का २९ वर्षीय युवा, कृष्णनगर ११ का २० वर्षीय युवा, गान्धिनगर ३ का ४२ वर्षीय पुरूष र शिवराज ११ निवासी ३४ वर्षीय युवा हुन्।
दाङबाट कोरोनालाई जितेर घर जाने अन्य तीन जना भने बाँकेको नरैनापुर गाउँपालिकाका हुन्।
उनीहरू नरैनापुर १ का १८ वर्षीय युवा, वडा नं. ३ का २५ वर्षीय युवा र वडा नं. ५ का २० वर्षीय युवा हुन्।
उनीहरू सबै जेठ २ गते कोरोना विशेष अस्पाल बेलझुण्डीमा उपचारका लागि ल्याइएका थिए।
अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले निको भएर घर फर्किएकाहरूलाई एक हप्ता होम क्वारेन्टिनमै बस्न आग्रह गरेका छन्।
त्यस्तै, उनले निको भएर घर फर्किएकाहरूलाई कोरोना विरूद्धको लडाइँमा फ्रन्टलाइनमा खटेर सहयोग गर्न आग्रह गरेका थिए।
१४ दिन आइसोलेसनको उपचारपछि कोरोना जितेर घर फर्किएकाहरूको मुहारमा बेग्लै खुसी र चमक देखिन्थ्यो।
बेलझुण्डीमा अब ३७ जना संक्रमित
कूल ४५ जना संक्रमित राखिएको बेलझुण्डी अस्पतालका ८ जना डिस्चार्ज भएपछि अब ३७ जना बिरामी राखिएको छ।
बेलझुण्डीमा अब दाङमा १९, रूकुम पूर्वका ३ बाँकेका ५,बर्दियाका ५, कपिलवस्तुका २ र रुपन्देहीका ३ जनाको उपचार भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले जानकारी दिए।
हालसम्म दाङका कुल २२ जनामा संक्रमण देखिएकोमा तुलसीपुरका एक जना र गढवाका एक जना कोरोना जितेर घर फर्किसकेका छन्।
अर्का एक घोराही ९ का संक्रमित भने काठमाडौंको आइसोलेसनमा उपचार गराइरहेका छन्।
बेलझुण्डीमा पनि बेड भरिँदै
प्रदेश कोरोना अस्पताल बेलझुण्डीमा १०० आइसोलेसन बेड छन्। तर त्यहाँ ५० जनाभन्दा बढीलाई राख्न नमिल्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
‘१०० बेड क्षमता भनिए पनि संक्रमितलाई राउन्डिङमा राख्नुपर्ने हुँदा ५० जनाभन्दा बढी राख्न मिल्दैन,’ वलीले भने। शुक्रबार ८ जना घटेपछि संख्या ३७ मा झर्दा केही सहज भएको उनले जानकारी दिए।