नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे ई-रिक्सा नचलाएको दुई महिना भयो।
ई-रिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ।
भाडाको घरमा बसेर रिक्सा चलाउँदै आएका कोरीसँग आम्दानीको अर्को कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र आफ्नो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य भएकी छन्।
बन्दाबन्दीका कारण ई-रिक्सा चलाएर आफ्नो दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र हुन्।
उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन ई-रिक्साको कमाइले धानेको छ।
बाँके जिल्लामा झण्डै १० हजार ई-रिक्सा सञ्चालनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउँछिन्।
लामो समयको बन्दाबन्दीले अहिले यिनै रिक्सा चालकको दैनिक कमाइ गुमेको छ।
आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न समस्या नपरे पनि रिक्सा मात्रै चलाएर बिहानबेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमा भोक र मानसिक तनाव दिएको छ।
झण्डै दुई महिनासम्म घरमै लकडाउनको पालना गरेर बसेका यहाँका केही रिक्सा चालक अहिले सडकमा रिक्सा लिएर निस्कन थालेका छन्।
उनीहरुको यस्तो प्रयासले भने निरन्तरता पाउन सकेको छैन।
स्थानीय प्रशासनले कडाइ गरेका दिन घर फिर्ता जानुको उनीहरुसँग अरु कुनै विकल्प रहँदैन।
‘अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाइ, आफन्तसँग ऋण लिएको रकम पनि सकियो। रिक्सा नचलाए अब त हाम्रो परिवार भोकभोकै मर्छ’, बन्दाबन्दीमा रिक्सा चलाउने भनेर निस्किएका नेपालगञ्ज—१३ का मोहम्मद हमिद इद्रिसीले भने।
बन्दाबन्दीमा ठूलै आँट गरेर रिक्सा सडकमा लिएर निस्कनेलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोक्ने तथा पैदल हिँड्नेहरु पनि कोरोना संक्रमणको डरले रिक्सामा बस्न नरुचाउने कारणले रिक्सा चालकले सोचे जस्तो भएको छैन।
‘रिक्सा चलाउन त दिनै मिल्दैन। समस्या सबैलाई परेको अवस्था हो, रिक्सा चालक त्यसवाट अछुतो रहने सवाल नै रहँदैन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गको भनाइ छ।
बन्दाबन्दीको शुरुवाती चरणमा स्थानीय तहका वडा कार्यालयले केही मात्रामा चामल, दाल र नूनतेल राहत उपलब्ध गराए पनि अहिले त्यस्तो सहयोग पनि नपाएको रिक्सा चालकको गुनासो छ। ‘बन्दाबन्दीभरि हामीले छाक टार्ने राहत पाएमा रिक्सा चलाउन जानैपर्दैन नि’, रिक्सा चालक इद्रिसीले भने।
(राससका लागि नीरज गौतम)