सानो नाति बोकेर छोराबुहारी नै परदेश हिँडेपछि उनी कान्छा छोराको घर नबिग्रियोस् भनेर रूँघेर बसेकी थिइन्। पिलर उठाएर ढलान गर्न नसकेपछि टिनले छाएको घर उनले डेढ वर्ष स्याहारिन्। उनको बुढा साइँला छोरासँगै बसे।
सोमबारसम्म उनी छोरा बुहारी र हलक्क बढेको नातिलाई घरमा स्वागत गर्न आतुर थिएन।
तर मंगलबारसम्म उनका छोराबुहारी गाउँ आएनन् बरू गाउँभरिका मान्छे आए। अर्धमुर्छित अवस्थामा ७१ वर्षीया तिलसरी पुनलाई सम्झाउन थाले।
दाङको शान्तिनगर गाउँपालिका-३ पूर्णबहादुर पुन, उनकी श्रीमती सीता र छोरा हिमांशुको मृत्युले गाउँ नै शोकमा छ।
पूर्णबहादुरका काका तिलक पुनका अनुसार उनी वर्षदेखि काम गर्न भारत जान्थे। बिचबिचमा घर आउने-जाने चलिरहन्थ्यो।
पछिल्लो समय डेढ वर्षअघि उनी घर आएर चन्डिगढ गएका थिए।
केही महिनाअघि कोरोनाभाइरसको महामारी फैलियो। लकडाउन भयो। नाका बन्द भए, बूढा आमाबुवालाई कान्छा छोरासँग भेटै नहुने हो कि भन्ने पीर लाग्यो। बुवाले फोन गरेर भने- घर आइज, परदेशको ठाउँभन्दा त बरू आफ्नै गाउँमा केही गरी खालास्।
पूर्णबहादुरका दाजु भक्तबहादुर पुनले चन्डिगढबाट हिँड्नुअघि भाइले आफूसँग कुरा गरेको बताए।
पूर्णबहादुरले बुवाले घर आइज भनेकाले नोकरी छोडेको र गाउँघरमै केही इलम गर्न योजना दाजुलाई सुनाएका थिए। दाजुभाइ बीचमा घर व्यवहारका कुरा पनि भए।
‘बिरामी बुवाको अवस्था र उपचारबारे पनि धेरै कुरा भएको थियो,’ भक्तबहादुरले भने ‘बुवाले घर आइज भनेको हुँदा पनि भाइ घर आउन लागेको थियो।’
भारतको बरेली पुगेपछि उनले भतिजा पूर्णबहादुरले फोनमा लामो कुराकानी गरेका थिए।
नेपालगन्ज आएपछि फेरि फोन गर्ने भनेर पूर्णबहादुरले फोन राखे।
‘मैले नेपालगन्ज आएपछि फोन गर्नु म एम्बुलेन्स पठाउँछु, गाउँपालिकामा एम्बुलेन्सको सुविधा छ, न आत्तिएस् भनेर सम्झाएको थिए,’ भक्तबहादुरले भने ‘घर परिवारलाई कति टेन्सन दिउँ भन ठानेर हो कि, रात परेको हुनाले हो, तर भाइले मलाई फोन गरेन।’
चन्डिगढबाट आउन लागेको भाइबुहारीको परिवारलाई कहाँको क्वारेन्टिनमा राख्नेबारे भक्तबहादुरले वडाध्यक्षलगायतसँग पनि सल्लाह गरेका थिए।
भाइको फोनको प्रतीक्षामा भक्तबहादुरले सोमबार दिउँसोसम्म कुरिरहे। उनको मनमा कुन क्वारेन्टिनमा राख्न लगे होलान् भन्ने लागिरहेको थियो। पातेटाकुरास्थित विद्यालयमा निर्मित क्वारेन्टिन भरिएको हुँदा शान्तिपुर लगे वा बागमारे लगेका होलान् भन्ने ठाने।
बिहान गाउँलेले पनि एक बस मानिसहरू आएको कुरा गरेपछि भक्तबहादुर त्यही हुनुपर्छ भन्ने निश्चयमा पुगे।
‘भाइले मलाई फोन गर्छ अनि कहाँ लगेर राखेका रैछन भन्ने पत्ता लाग्छ भन्ने सोचमा थिएँ,’ भक्तबहादुरले भने।
दिउँसो ३ बजेपछि उनले वडाध्यक्षलगायतका व्यक्तिसँग भाइबुहारीलाई कहाँ लगेर राखेको छ? भनेर सोधीखोजी गर्न थाले।
यता भक्तबहादुर क्वारेन्टिनमा भाइबुहारी खोजिरहेका थिए उता उनका भाइबुहारी र भतिजा कहिले नआउने गरी नेपालगन्जमै अड्किएका थिए। उनीहरू चढेको गाडी आइतबार रातको साढे ११ बजेतिर बाँकेमा दुर्घटनामा परिसकेको थियो।
त्यही बीचमा गाउँमै मोवाइल पसल गर्ने भिनाजु नाता पर्ने व्यक्तिले भनेछन् ‘कि सालाहरू रातको १२ बजेतिर भएको दुर्घटनामा त परेनन्।’
त्यसपछि भक्तबहादुरले सामाजिक सञ्जाल र अनलाइनमा दुर्घटनाको समाचार हेर्न थाले।
त्यतिबेलासम्म घाइतेहरूको मात्रै नाम ठेगाना सार्वजनिक भएको थियो।
मृत्यु हुनेहरूको ठेगाना नभए पनि नाम भने उनीहरूले फेला पारे। त्यसमा भाइ बुहारीको नाम देखे। भतिजाको नाम भने थिएन। त्यो देखेर भक्तबहादुर छाङ्गाबाट खसेझैं भए।
भिनाजुले सम्झाए- रोल्पा लिवाङको ठेगाना हालेको छ, साला र बहिनी हैनन् होलान्।
भक्तबहादुरको मनले मानेन। तुरून्तै वडाध्यक्ष बुद्धिराम तिवारीलाई फोन गरि गाडीको व्यवस्था मिलाएर नेपालगन्ज गए।
काका तिलक पुन, भक्तबहादुर र मृतकका ससुरा चित्रबहादुर बुढालाई राति शव हेर्न दिइएन। मंगलबार बिहानमात्रै उनीहरूले शव हेर्न पाए।
उनीहरूले पूर्णबहादुर, सीता र हिमांशुको शव पहिचान गरे।
‘शव त्यसै गल्लीमा फालेको छ, गन्हाउने अवस्थामा छ, झिंगा लागेको छ,’ चित्रबहादुरले भने ‘हामीलाई बस समितिका मानिस आउँदै छन् कुरा गरेर जानुहोला भनेर रोकिएको छ।’
चित्रबहादुरले छोरी सीताले पिलर उठाएर छोडेको घर ढलान आफ्नी छोरीको सपना पुरा हुन नपाएको बताए।
‘चण्डीगढबाट हिँड्नुअघि फुपुलाई पनि भनेकी रैछे, बुवाले घर निर्माणको ठेक्काको काम गर्नुहुन्छ, मेरो घर ढलान गर्ने जिम्मा पनि म बुवालाई नै दिन्छु,’ चित्रबहादुरले भने।
सीताजस्तै पूर्णबहादुरले पनि टिनको छानो हटाएर घर ढलान गर्ने सपना दाइलाई सुनाएका थिए।
‘आमा घरमा एक्लै रुँगेर बस्नु भएको छ, अब आमालाई एक्लै कति त्यसरी बसाल्नु घर आएर आमा बुवाको सेवा गर्छु भन्थ्यो, गाउँमै केही इलम गर्छू भनेको थियो, बिचरा घर आउनै पाएन,’ भक्तबहादुरले भने।
घाइतेले चालकले मदिरा सेवन गरेर गाडी चलाएको हुँदा दुर्घटना भएको भन्ने जानकारी आफूलाई दिएको भक्तबहादुरले बताए।
‘दुर्घटना हुनुभन्दा पहिला दुई-तीन ठाउँमा गाडी पुरै झक्झकाएको थियो रे,’ घाइतेको भनाइ उद्धत गर्दै भक्तबहादुरले भने‘ एक ठाउँमा त नालामा हालिसकेको थियो रे।’
दाङ, सल्यान, रोल्पाका मानिस आफैं भाडा तिरेर घर फर्कन लागेको समयमा राप्ती सोनारी गाउँपालिका-२ ठुरिया जंगलमा आइतबार राति ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीले रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए।
प्रहरीले भने तीव्र गति र ओभरलोडका कारण दुर्घटना परेको अनुमान गरेको छ।