दाङका एक जना कोरोना संक्रमितलाई असजिलो भएपछि बुटवल ‘रिफर’ गरिएको छ।
बबई गाउँपालिका वडा नं. ६ का ३० वर्षीय डेंगीका संक्रमित समेत रहेका युवालाई मंगलबार दिउँसो बुटवल धागो कोरोना विशेष अस्पतालमा रिफर गरिएको हो।
अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले डेंगीका बिरामी समेत रहेका ती युवालाई ज्वरो बढ्दै जान थालेको हुँदा मंगलबार दिउँसो रिफर गरिएको जानकारी दिए। ‘उहाँलाई ज्वरो लगातार बढ्दै जान थाल्यो,’ वलीले भने ‘उहाँले हातखुट्टा दुख्न थाले, खोकी पनि लाग्न थाल्यो भन्न थालेपछि बुटवल रिफर गरिएको हो।’
संक्रमितले भरियो बेलझुण्डी अस्पताल
बेलझुण्डी कोरोना विशेष अस्पतालका सबै बेड भरिभराउ भएका छन्। ५० जना संक्रमितलाई राख्न मिल्ने ठाउँमा ५१ जनालाई राखेर उपचार हुँदै आएकोमा मंगलबार एक जनालाई बुटवल रिफर गरेपछि अब ५० जना रहेका छन्। बेड सबै भरिभराउ भएपछि सम्बन्धित गाउँपालिकाका क्वारेन्टिनलाई आइसोलेसनको रूपमा विकास गरेर त्यही बिरामी राख्न थालिएको छ ।
आइसोलेसन बेड अभावका कारण सोमबार फेला परेका घोराही उपमहानगरपालिकाका ९ जना संक्रमितलाई कुइरेपानीको क्वारेन्टिनमा राखिएको छ।
कुइरेपानीको क्वारेन्टिनलाई आइसोलेनसका रूपमा विकास गरेर त्यही बिरामी राखेर उपचार थालिएको छ।
मंगलबार फेलाका परेकामध्ये बंगलाचुली गाउँपालिकालाई सोही गाउँपालिकाका क्वारेन्टिनमा राखिने भएको छ। राप्ती गाउँपालिकाका १ जनालाई बेलझुण्डी अस्पताल र अर्का १ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राख्ने गरी तयारी थालिएको स्रोतले बताएको छ।
डेँगुका बिरामीलाई रिफर गरिएपछि एउटा बेड खाली भएको हुँदा राप्ती गाउँपालिका १ संक्रमितलाई त्यसैमा राख्ने गरी तयारी गरिएको छ।
मंगलबार दाङमा ८ र प्यूठानमा १ जना नयाँ संक्रमित थपिए
दाङमा मंगलबार ८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। बंगलाचुली गाउँपालिकामा ६ र राप्ती गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक जना संक्रमित भने प्यूठान जिल्लाका हुन्।
बंगलाचुली गाउँपालिका वडा नं. ७ का २९ वर्षीय एक जना र वडा नं. ५ का १९,२७,३१,३२,५४ वर्षीय ५ जना पुरूषमा पनि कोरोना संक्रमण भेटिएको छ।
२९ वर्षीय संक्रमित सरस्वती मावि जवरकोटको क्वारेन्टिनमा बसेका थिए भने थप ५ जना संक्रमित सुडा मावि झेलनेटाको क्वारेन्टिनमा बसेका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा राप्ती गाउँपालिका वडा नं. १ का १८ वर्षीय १ जना, वडा नं. ९ का ५५ वर्षीय १ जना पुरूष छन्।
देवका अनुसार १८ वर्षीय युवक नवप्रतिभा आधारभूत विद्यालय र ५५ वर्षीय पुरूष आदर्श माविको क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।
प्युठान जिल्लाका संक्रमित स्वर्गद्वारी नगरपालिका वडा नं. ४ का ५९ वर्षीय पुरूष हुन्। उनी अमर क्याम्पसमा निर्मित क्वारेन्टिनमा बसेका थिए।
प्रतिष्ठानका अनुसार मंगलबार पहिचान भएका दाङका ८ र प्यूठानका १ जना छिमेकी देश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका व्यक्ति हुन्।
प्रतिष्ठानमा हालसम्म ३ हजार २२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा विभिन्न जिल्लाका गरी १२४ जनामा संक्रमण पुष्टि भएको छ।
दाङमा हालसम्म ५१ जना संक्रमित
दाङ जिल्लामा मंगलबारसम्म ५१ जनामा संक्रमन पुष्टि भएको छ। त्यसमध्ये गढवाका १ जना भने उपचारपछि कोरोनामुक्त भएर घर फर्किसकेका छन्। यसमा काठमाडौंमा फेला परेका २ जनालाई भने जोडिएको छैन। त्यो समेत जोड्दा दाङका कुल संक्रमितको संख्या ५३ पुग्ने बेलझुण्डी अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले जानकारी दिए।
काठमाडौंमा संक्रमण फेला परेकामध्ये तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरका १ जना भने उपचारपछि निको भएर घर आइसकेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ९ का एक संक्रमित भने काठमाडौंमै उपचाररत् छन्।