लकडाउनका बेला सबै बन्द छ, काम गरी खानेको काम पनि बन्द।
तर तुलसीपुर उपमहानगरपालिका-६ गौलौराकी ३८ वर्षीया कल्पना सुनार भने कुलो सफा गर्ने काम पाएकी छन्।
उनको परिवारलाई साँझ बिहानको गर्जो टार्न ज्याला मदजुरी काम नगरी पुग्दैन।
‘लकडाउन’ भन्ने शब्द पहिलो पटक सुनेकी सुनारले यस्तो होला भन्ने कल्पनै गरेकी थिइनन्।
कल्पनाका ६ सन्तान छन्। श्रीमानसँगै मजदुरी गरेर उनले तिनलाई हुर्काइरहेकी छन्।
दुई महिनादेखिको लकडाउनले सुनारको परिवार साह्रै समस्यामा पर्यो। वडाले दिएको राहतले दुई दिन मात्रै खान पुग्यो। घरमा जोहो गरेर राखेको खाद्यान्न पनि सबै सकियो। खाद्यान्न सकियो तर लकडाउन सकिएन।
‘बढीमा एक हप्ता दिन होला भन्ने कल्पना थियो,’ सुनारले भनिन् ‘तर, दुई महिना बित्यो अझै कहिले खुल्छ निश्चित छैन।’
अनिश्चित लकडाउनले भोकभोकै मार्छ कि भन्ने चिन्ता भएकै बेला सुनारको घरमा वडाका जनप्रतिनिधि आइपुगे।
नगरले दिएको काम गर्छौ कि गर्दैनौ भनेर सोधे।
प्रश्न भुइँमा खस्न नपाउँदै सुनारले ‘हुन्छ’ भनिन्। काम दिने मानिस घरमै आइपुगेपछि खुसी नहुने कुरै भएन।
त्यसपछि उनी कुलो सफाइ गर्न हिँडिन्।
‘काम पाउँदा हामी खुसी छौं,’ उनले भनिन्।
उनीजस्तै २५ वर्षीया रूपा बिक पनि सिचाइँ कुलो सरसफाइको काममै व्यस्त छन्।
बिक बिरामी बच्चा घरमा छोडेर काममा आएकी रहिछन्। उनका ३ वर्षीय छोरालाई ब्लड क्यान्सर भएको छ।
दैनिक ज्यालामजदुरी गरेर परिवारको गर्जो टार्ने रूपालाई छोराको रोगले झनै तनावमा पारेको छ। एकातिर छोरा बिरामी अर्कोतर्फ दुई महिनादेखि लगातार लकडाउन! बिक कामको खोजीमा बाहिर निस्कन पनि पाइनन्। उनले पहिला गर्ने काम बन्द भइसकेको थियो।
उपचारभन्दा पनि पहिला त बिहान बेलुका के खान दिने भएकै बेला उनले कुलो सफाइको काम पाएकी हुन्।
कुलो सफाइ गर्न टीला बस्नेत पनि आएकी छन्।
उनीजस्तै अन्य १९ जना महिला पनि धमाधम काम गरिरहेका छन्। कसैको हातमा कुटो छ, कसैको हातमा कोदालो। कसैको हातमा हँसिया, खुर्पा, फरूवालगायत घरेलु औजार छन्। उनीहरूले सिचाइँ कुलोबाट झार जंगल, प्लाष्टिक, बोत्तल, कपडाजस्ता कुराहरू निकाल्ने काम गरिरहेका छन्। त्यहाँ काम गर्ने महिलामध्य कतिपयले अन्न सकिएको, ग्यास सिद्धिएको, लकडाउनपछि माछा मासु खान नपाएको हुँदा श्रम गर्न आएको बताए।
तुलसीपुर बजारमा आजकल यस्तै श्रमिकहरू सामाजिक दूरी कायम गरी रेलिङ पेन्टिङ गरिरहेका भेटिन्छन्। राप्ती राजमार्ग अन्तर्गतको तुलसीपुरको मुख्य बजार श्रमिकहरूले पेन्ट गरेर टिलिक्क टल्किने बनाएका छन्। नगरको दिएको कामअनुसार तुलसीपुरमा आजकल कोही पेन्ट गरिरहेका, कोही फूल रोपिरहेका, कोही बोट बिरूवा गोडमेल गरिहेका तथा सरसफाइमा जुटेका भेटिन्छन्।
काम र माम नहुँदा भोकै मरिन्छ कि भन्ने चिन्ता भइरहँदा उनीहरूलाई यो काम तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएको हो।
तर यो काम भने उनीहरूले जम्मा तीन दिनमात्र पाउँछन्।
तीन दिन काम गरेबापत् एकजनालाई २५ किलो चामल, नुन, दाल, तेल र साबुन पाइन्छ।
‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमजस्तै दैनिक एक जनाले ८ घन्टा काम गर्नुपर्छ। त्यसबापत् ५ सय २५ रुपैयाँ लैजान्छु भने पनि पाइन्छ,’ तुलसीपुरका मेयर घनश्याम पाण्डेले भने ‘श्रम बैंक स्थापना गरी हामीले राहतलाई श्रमसँग जोडेका छौं।’
सधैँभरि राहात वितरण गर्न सम्भव नभएको र त्यसो गर्दा जो-कोही राहतको लाइनमा बसेको हुँदा श्रमिकलाई काम दिएर ज्याला दिने गरेको पाण्डेले बताए।
कामको विवरण राखेर सोहीअनुसारको राहत दिँदै आएको तुलसीपुरका विपद् व्यवस्थापन शाखाका अधिकृत भीमप्रकाश खत्रीले जानकारी दिए।
उनकाअनुसार एक परिवारबाट आएकालाई ५ दिनसम्म मात्रै काम दिने व्यवस्था गरिएको छ।
‘३ दिन काम गरे २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र १ पिस साबुन दिने व्यवस्था गरेका छौं,’ खत्रीले भने।
५ जनाभन्दा बढी परिवार रहेकालाई भने २ जनालाई काम गर्ने मौका प्रदान गरिएको छ।
‘खाद्यान्न घरमा भएकालाई पैसासमेत दिइन्छ,’ खत्रीले भने।
तुलसीपुरमा वडा कार्यालयको सिफारिसमा रोजगार प्रर्वद्धन शाखाले काम लगाउने गरेको छ। शाखाका अधिकृत गिरिराज मिश्रले के काम लगाउने भन्ने टुंगो वडा कार्यालयको योजनाअनुसार नै हुने गर्छ।
तुलसीपुरका १९ वटै वडामा गरेर ३ सय जनालाई काम दिने योजना बनाएको उनले बताए।
तुलसीपुर-घोराही फोर लेन सडक निर्माणको काम र तुलसीपुर विकास प्राधिकरणको काममा समेत त्यस्ता श्रमिकलाई लगाउने गरिएको छ।
प्राधिकरणका एक सदस्य विजय बिकले सडकमा वेस बिछ्याउनेजस्ता काम पनि उनीहरूलाई प्रयोग गरिएको छ।