रूकुम पश्चिमको मुसीकोट नगरपालिका- १३ का वडाध्यक्ष दीपक केसीले मदिराले मातेपछि ग्याङसहित प्रहरी चौकीमा आक्रमण गरेका छन्।
वडाध्यक्ष केसीले वडा नम्बर १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ।
‘वडाध्यक्षले चौकी आक्रमण गरी पेस्तोल समेत खोसेछन्। १५-२० मिनेटपछि मात्रै प्रहरीले त्यो फिर्ता लिन सके,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘वडाध्यक्षले ड्युटीका प्रहरी जवानलाई समेत लात्ताले हानेछन्।’
प्रहरी पोष्ट छिवाङका इञ्चार्ज सई धनबहादुर साउँदले मंगलबार बेलुका सवा ८ बजेतिर मदिराले मातेका वडाध्यक्ष केसीको नेतृत्वमा उनका भाइ राजन केसी, छोरा विमर्ष केसी, स्थानीय खिमराज गिरी, हरि ददेल, पूर्णबहादुर ददेललगायत ३०-४० जनाको समूहले प्रहरी पोष्टमा आएर एक्कासी ढुँगामुढा गरेको बताए।
वडाध्यक्ष केसीले ड्युटीमा रहेका प्रहरी जवान मदन कठायतलाई लात्ताले हानेर लडाएको सई साउँदले बताए।
‘वडाध्यक्षज्यूको ग्याङ ८:२० बजेतिर टन्न रक्सी खाएर मोटरसाइकलको हर्न बजाउँदै आएछ,’ साउँदले भने ‘ड्युटीका प्रहरी कठायतले चेकजाँचको लागि राखिएको गेट (घारो) खोल्दै गर्दा साले वडाध्यक्ष आएको थाहा छैन छिटो हटाउन सक्दैनन् भन्दै गाली गर्नुभएछ।’
गेट खोलेपछि मोटरसाइकल लगेर अगाडि बढेका वडाध्यक्षले त्यो रोकेर फर्केर आए।
फेरि साले, वडाध्यक्षलाई गेट लगाउनु पर्छ भन्दै आएर भुक्क एक लात्ती हाने र धकेलेर लडाइदिए।
त्यसपछि प्रहरी जवान कठायत आफ्ना इञ्चार्ज साउँदलाई त्यो कुरा भन्न भित्र गए। साउँद खाना खाँदै थिए। साउँद बाहिर निस्कँदा वडाध्यक्ष नेतृत्वको टोलीले बाहिर तोडफोड र ढुँगामुढा गरिरहेको थियो। सवारी चेकजाँचका लागि राखिएका अवरोध तथा ड्रम धमाधम फालिरहेका थिए, कुर्सी तोडफोड गर्दै थिए।
साउँद बाहिर आएपछि पनि वडाध्यक्षले यो प्रहरी पोष्ट किन चाहियो भन्दै तोडफोड गरिरहे। ‘अस्ति सिम्लीका स्थानीयसँग झगडा हुँदा एउटा मान्छे पनि नरोक्दिने भन्दै उहाँ कराइरहनुभयो,’ साउँदले भने, ‘मैले त्यत्रो मान्छे रोकें, कसैलाई जान दिइनँ त्यसैले ठूलो झडप हुन पाएन। तपाईंजस्तो मान्छेले यस्तो गर्ने? भन्दा पनि सुन्नुभएन।’
साउँदका अनुसार उनीहरू लाठी, चक्कु र नाइनस्टिकसहित आएका थिए।
‘हामी तीन जनामात्रै थियो, दुईजना साथी ड्युटीमै थिए,’ साउँदले भने, ‘कसैले नाइनस्टिक घुमाइरहेका थिए ,कसैका हातमा लाठी थियो कसैले चक्कु निकालेका थिए।’
प्रहरी पोष्टमा भएको हल्लाखल्ला पछि स्थानीय महिलाहरू आएपछि वडाध्यक्षको ग्याङ त्यहाँबाट गएको प्रहरीले बताएको छ।
चौकी आक्रमणको कारण
चौकी इञ्चार्ज साउँदका अनुसार मंगलबार बिहान ९ बजेतिर वडाध्यक्ष केसी बिनाहेलमेट मोटरसाइकल चलाइरहेका थिए। ड्युटीका हवल्दारले ‘वडाध्यक्षज्यू हेलमेट त लगाएको भए राम्रो हुने थियो’ भनेर सम्झाउन खोजे।
जनप्रतिनिधिले नै सवारी नियम उल्लंघन गरे अरूलाई हामीले के भन्ने भन्दै सम्झाउन खोज्दा उनले वडाध्यक्षले हेलमेट लगाउनु पर्छ र? भने।
बाझाबाझ हुने थालेपछि इञ्चार्ज साउँद त्यहाँ पुगे।
‘त्यत्तिकैमा झोक्किएर लौ जरिवाना काट भन्दै उहाँले एक हजारको नोट निकाल्नुभयो,’ साउँदले भने, ‘मैले यो चाहिँदैन, तपाईं आफैं नियममा बस्ने हो, गएर ट्राफिकसँग जरिवाना काट्नु होला भन्ने कुरा गरें।’
वडाध्यक्ष रिसाएर गए।
एक हप्ताअघि मुसिकोटकै सिम्ली र सिवाङका गाउँले बीच लफडा भयो। सिवाङको ग्याङ वडाध्यक्ष केसीको थियो। त्यतिबेला पनि प्रहरीले सिम्लीबासीलाई रोकेन भनेर वडाध्यक्षले रिस साँचेर राखेका थिए। प्रहरी पोष्टमा मंगलबार बेलुका आक्रमण गर्न जानुको कारण यत्ति नै भएको प्रहरीको भनाइ छ।
‘एउटा जनप्रतिनिधिले त प्रहरी र समाजको बीचमा समन्वय गरेर पो हिँड्नुपर्थ्यो,’ साउँदले भने, ‘वडाध्यक्षले आफैं मदिरा सेवन गरी पटक-पटक होहल्ला गर्दै हिँड्ने, प्रहरीमाथि जाइलाग्ने राम्रो भएन।’
उनले त्यस्ता व्यक्ति जो कोही भए पनि काराबाही हुनुपर्छ, यत्तिकै छोडे प्रहरीको मनोबल खस्किन्छ भनेर आफू बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेको बताए।
‘मैले प्रहरी प्रमुख र सिडिओ साबलाई पनि त्यही माग गरेको छु,’ साउँदले भने, ‘सरहरूले दोषी जो कोही भएपनि कारबाही हुन्छ भन्नुभएको छ।’
प्रहरी चौकीमा वडाध्यक्षको नेतृत्वमा आक्रमण भएपछि सशस्त्र प्रहरीका १०-१२ जना पुगेर चौकीको सुरक्षा गरिरहेको उनले बताए।
‘हाम्रा साथीहरु पोष्ट भित्रै बस्नु भएको छ, सशस्त्र प्रहरी पुगेर पोष्टको रक्षा गरिरहेको छ,’ साउँदले भने।
केसी तत्कालिन नेकपा माओवादीबाट निर्वाचित भएका हुन्। आरोपित वडाध्यक्ष केसीको मोबाइलमा सम्पर्क हुन सकेन। घटनापछि केसीलगायत सबै फरार रहेको प्रहरीले बताएको छ।