६ जनाको ज्यान जानेगरी भएको रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न रहेको अभियोग लागेकामध्ये १८ जना विरुद्ध म्याद भएको छ।
चौरजहारी घटनाका पीडित परिवारले २० जना विरुद्ध किटानी जाहेरी दिएकोमा पक्राउ परेका १८ जना विरुद्ध बिहीबार १० दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
प्रहरीले अभियुक्तलाई १२ दिन पछि जिल्ला अदालतमा म्याद थपको लागि बिहीबार उपस्थित गराएको थियो।
जेठ १० गते भएको उक्त घटनामा भेरी नगरपालिका निवासी २१ वर्षीय नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं। १ का टीकाराम नेपालीले ज्यान गुमाएका थिए।
रुकुम चौरजहारीको सोती गाउँमा मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि चौरजहारी ८ का वडाध्यक्षको नेतृत्वमा उनीहरुमाथि लखेटी लेखटी आक्रमण तथा हत्या भएको पीडित पक्षको जाहेरीमा उल्लेख छ।
घटनामा १२ जना घाइते भएका छन्।
उक्त घटनाका आरोपितमध्ये चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, प्रेमिका, उनका बुवा आमासहित १८ जनालाई प्रहरीले १२ गते मात्रै पक्राउ गरेको थियो।
पीडित परिवारले घटनामा संलग्न भएको भन्दै २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। प्रहरीका अनुसार तीमध्ये २ जना भने अझै फरार छन्।
तस्वीर सौजन्य– आरोपितलाई म्याद थपका लागि जिल्ला अस्पताल तर्फ लैजाँदै प्रहरी।