पानी परिरहेको छ। विगत दुई-तीन दिनदेखि आकाश कालो बादलले ढपक्कै छोपेको छ।
जिल्लाका प्रमुख जलाधारहरू बबई र राप्तीमा पानी धमिलो छ। पानीको सतह बढ्दै गएको छ। यसले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको मन त्रसित छ।
डुवान तथा बाढी ग्रस्तका सर्वसाधारणको चैन खलबलिन थालेको छ।
त्यही समयमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङको चेतावनीयुक्त म्यासेज मोबाइलमा आइपुग्छ। बबई नदीको शितलपुर क्षेत्रमा बाढीले चेतावनी क्षेत्र पार गरिसकेको छ।
बाढीले चेतावनीको तह पार गरिसेकेको हुँदा जति हुन्छ छिटो सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई सूचित गरिन्छ।
त्यतिबेलासम्म तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरीयाको सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक नवराज रावत समुदायमा खवरदारी गरिसक्छन्। रावतको खबरदारी लगत्तै समुदायका मानिसहरू सुरक्षित ठाउँतिर जान हतार हतार तयारी गरे।
सम्भव भएसम्म अत्यावश्यक सामग्री लिएर घरबाट निस्किएर सुरक्षित स्थानमा पुगे।
त्यतिञ्जेल जिल्ला विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालको समूह पनि त्यहाँ पुगिसकेको थियो।
बबई तटीय क्षेत्रका मानिसहरू उच्च स्थानको बखरियास्थित एक विद्यालयमा भेला भए।
केही बेरमै फेरि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङबाट मोबाइलमा अर्को सन्देश आयो। जसमा बबई नदीको शितलपुर क्षेत्रमा जलसतह सामान्य अवस्थामा फर्किएको र तत्कालै कुनै खतरा नभएको सूचना थियो। सजग भइ घर फर्किन अनुरोध गरिएको थियो। त्यो सन्देशपछि स्थानीय घर फर्किए।
यो एउटा अभ्यास मात्रै थियो।
नदी तटीय क्षेत्रका समुदायमा विपद् पूर्वतयारी अभ्यास। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण समुदायका सीमित व्यक्ति र पत्रकारहरूका बीचमा यो अभ्यास शुक्रबार भएको हो।
नदी तटीय क्षेत्रका सर्वसाधारणलाई बाढी आउँदा विपद्को समयमा कसरी सुरक्षित रहन सकिन्छ? भन्ने पूर्वतयारी शिक्षा समुदायलाई दिने प्रयास थियो।
जिल्लामा बाढीको उच्च जोखिम युक्त क्षेत्र मानिने तुलसीपुरको बबई नदी किनारामा बसोबास गर्ने समुदायलाई पूर्वतयारी अभ्यास पछि विपद् पूर्वतयारी र बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकाल सहितको टोली त्यही अभ्यासका लागि राप्ती नदी किनारको सबभन्दा जोखिमयुक्त क्षेत्र मानिने धनपुरुवा गाउँ पुग्यो।
लमही नगरपालिका वडा नं. ८ धनपुरुवा गाउँमा ८० जति घर परिवारको बसोबास छ। जहाँ हरेक वर्ष जसो राप्तीको बाढी पस्ने गर्छ। यो पनि बाढीको दृष्टिकोणले जिल्लाकै उच्च जोखिम क्षेत्र हो।
त्यहाँ पुग्दा नपुग्दै राप्ती नदीको बगासोती जलमापन केन्द्रबाट जलसतहले चेतावनी तह पार गरेको सूचना मोबाइलमा आयो।
लगत्तै धनपुरुवाका लक्ष्मीप्रसाद चौधरीले समुदायमा त्यो सूचना प्रवाह गरे। साइरन बज्यो। माइकिङ भयो।
मानिसहरू अत्यावश्यक सामग्रीसहित घर बाहिर निस्किए। सबैलाई सुरक्षित ठाउँमा जान आह्वान गरियो। त्यहाँका स्थानीयले त्यसै गरे। त्यो पनि एउटा पूर्वतयारी अभ्यास मात्रै थियो।
विपद्को समयमा बाढीबाट कसरी जोगिने? भनेर गरिने पूर्वतयारी अभ्यासले समुदायलाई सावधान बनाएको स्थानीय कामेश्वरप्रसाद यादवले बताए।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालले जोखिमयुक्त क्षेत्रका समुदायमा पटक-पटक यस्ता पूर्वतयारी अभ्यास आवश्यक पर्ने भए पनि कोरोना भाइरसका कारण यसपालि त्यो व्यवहारिक रूपमा गर्न कठिन भइरहेको बताए।
उनले वर्षात् र बाढीको समय आउन लागेको हुँदा मनसुन पूर्वतयारीको योजना तयारी पारेको तथा त्यही योजना अनुसार विपदको क्षेत्रमा खटिने टिमलाई अलि सुसूचित भएर बस्न आह्वान गरिएको जानकारी दिए।
केन्द्रका विनायक पौडेलले बाढी र विपद्को समयमा उद्धारको लागि आवश्यक पर्ने रबरबोट, स्टेचर, हेलमेट, प्राथमिक उपचारका सामग्रीहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।
यूएसएडको सहयोग र प्राक्टिकल एक्सनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी दाङले विपद् पूर्वतयारी र बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजना सञ्चालन गरेर समुदायलाई सचेत तुल्याएको हो।
भालुवाङस्थित राप्ती गाउँपालिका वडा नं. १ बगासोतीस्थित स्टेसन नम्बर ३ सय ५० मा गेज रिडरको काम गर्ने सूर्यबहादुर रावतले पानीको सतह अनुसार गेजमा बढेको डाटा सबैतिर पुर्याउने पहिलो काम गर्दै आएका छन्।
उनका अनुसार बाढीले ५ मिटर भन्दा माथि उक्लन थालेपछि उनले सबैतिर सूचना जारी गर्ने गर्छन्। रावतले बगासोती स्टेसनमा २०७३ सालमा सबभन्दा धेरै ८ मिटर ७५ सेन्टिमिटरसम्म बाढी आएको रेकर्ड रहेको जानकारी दिए।
विक्रम संवत २०३२ सालदेखि उनका बुवा खड्गबहादुर रावलते राप्तीको बाढीको अवस्थाका बारेमा जानकारी दिने काम गर्दै आएका छन्। यो सूचना नेपालका साथै भारतसम्म पुग्ने गर्दछ।
दाङमा मध्य राप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा पर्छन।
ती समुदायलाई गएर शुक्रबार बाढीबाट सुरक्षित राख्न र पूर्व सूचना प्रणालीको अभ्यास गरिएको हो। एकै समयमा ६८ ओटा समुदायमा यस्तो अभ्यास गरेर सचेत पारिएको विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए।
दाङमा बबई जलाधार क्षेत्रमा ४ वटा पालिका अन्तरगत २८ वटा समुदाय बाढीको उच्च जोखिममा रहेका छन् भने मध्यराप्ती जलाधार क्षेत्रमा ४ वटा पालिकाभित्र ४० वटा समुदाय बाढीको उच्च जोखिममा रहेका छन् ।
सबै तस्विर – नारायण खड्का ।