दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचाररत दश जना आइतवार डिस्चार्ज भएर घर फर्किएका छन्।
जिल्ला फोकल पर्सन कलम चन्दका अनुसार बाँके जिल्लाका ५ जना, बर्दियाका १ जना , कपिलवस्तुका २ जना र दाङका २ जना आइतवार डिस्चार्ज भएका हुन्।
दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १-१ जना डिस्चार्ज भएका चन्दले जानकारी दिएका छन्।
रिपोर्ट अनुसार डिस्चार्ज हुने मध्य दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय युवा कोरोना मुक्त छन्।
त्यस्तै कपिलबस्तुको शिवराज गाउँपालिकाका २ जना र बाँकेको नरैनापुर गाउँपालिकाका थप २ जनाको रिपोर्ट मात्रै नेगेटिभ आएको थियो।
स्रोतका अनुसार आइतबार डिस्चार्ज भएकामध्ये ५ जना परीक्षण रिपोर्ट नगेटिभ आएकाहरु हुन भने थप ५ जनाको भने रिपोर्ट पोजेटिभ नै रहेपनि डिस्चार्ज गरिएको छ।
त्यसमध्ये एकजना दाङको गढवा गाउँपालिकाका एक युवा पनि छन्।
स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार रिपोर्ट पोजेटिभ नै रहेपनि थप ५ जनालाई डिस्चार्ज गरिएको हो ।
मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशनमा आइसोलेशनमा १० दिन भन्दा बढी समय बस्दै आएका तर कुनैपनि लक्षण नभएका व्यक्तिहरुलाई डिस्चार्ज गर्न निर्देशिका जारी गरेको छ।
कुनै लक्षण नभएका तर १० दिन भन्दा बढी समय आइसोलेनसमा बसेका विरामीवाट अरुमा कोरोना भाइरस सर्न नसक्दैन भन्ने मान्यता अनुरुप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको छ।
अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण ओलीले रिपोर्ट पोजेटिभ नै भएपछि डिस्चार्ज गरिएकाहरु अस्पतालमा १८-१९ दिन बसेपनि कुनै पनि लक्षण नदेखिएकाहरु हुन्।