कोरोना पोजेटिभ नै रहँदा दाङबाट डिस्चार्ज भएका ३ जनालाई फेरि बाँकेको आइसोलेसनमा राखिएको छ।
आइतबार दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालबाट डिस्चार्ज गरिएका १० जनामध्ये ५ जना मात्रै कोरोना भाइरसबाट मुक्त भएका थिए। स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोरोना पोजेटिभ नै रहेता पनि अरु ५ जनालाई डिस्चार्ज गरी घर पठाइएको थियो।
घर पठाइएकामध्ये नरैनापुर गाउँपालिकाका ३ जना पोजेटिभलाई गाउँलेले गाउँमा प्रवेश नै गर्न दिएनन्। त्यसपछि सोमबार विहानै उनीहरुलाई नेपालगञ्जस्थित डेन्ट हस्पिटलको आइसोलेसनमा ल्याएर राखिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले गाउँलेको विरोधका कारण उनीहरुलाई फेरि ल्याएर आइसोलेसनमा राख्नु परेको बताए। ‘उहाँहरु गाउँ पुग्नासाथ गाउँलेले घेरा होलेर मार्लान झैं गरे,’ प्रजिअ कुरुम्बाङले भने ‘ गएराति अध्यक्षज्यूले उहाँहरुलाई छुट्टै ठाउँमा लगेर राख्नु भएको रहेछ, त्यही भएर फेरि आइसोलेसनमा ल्याउनु परेको हो।’
पोजेटिभ अवस्थामै अस्पतालले डिस्चार्ज गरेका व्यक्तिहरु स्थानीयको विरोधका कारण गाउँमा जान नसक्ने अवस्था सिर्जना भएका कारण फिर्ता ल्याउनु परेको प्रजिअ कुरुम्बाङले बताए।
‘स्थानीयले राज्यको निर्देशन अनुसार डिस्चार्ज भएका विरामीहरु स्वीकार नगर्नु ठिक त हैन,’ प्रजिअ कुरुम्बाङले भने ‘ तै पनि तीब्र विरोध भएको हुँदा उहाँलाई फिर्ता ल्याउनु परेको हो।’
ती तीन जनाको स्वाब संकलन गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिने उनले बताए। तर बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने स्वाथ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई त्यत्तिकै घर पठाउन पनि सकिने जानकारी दिए। स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा कुनै लक्षण नदिएकाहरुलाई दश दिनपछि डिस्चार्ज गर्न सकिने उल्लेख छ।
यसैबीच बाँकेमा सोमवार थप २० जना कोरोना मुक्त भएर घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताए।