सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोना जितेर मङ्गलबार घर फर्किएका छन्।
उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिए।
विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उनले बताए।
निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाएका थिए।
बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरू पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ।
यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन्।
विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै संक्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए।
सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ गुरागाईँले बताए।
योसँगै सिरहामा कोरोना संक्रमितको सङ्ख्या ६१ पुगेको छ।
(रासस)