६० वर्षीया पार्वती परियार र ७० वर्षीया काली कँवर पातुखोलाको मैना बगरमा छन्। जहाँ उनीहरू बाँच्नका लागि संघर्ष गरिरहेका छन्। ढुंगा र बालुवाले भरिएको बगरमा ढुंगा अलग पार्ने र बालुवामात्रै निकाल्ने उनीहरूको दैनिकी बनेको छ।
बालुवा कोतर्न व्यस्त उनीहरूले हातले समात्न मिल्ने हातका औंला जस्तै तार जाली बुनेर ल्याएका छन्। उनीहरूका कथा-व्यथा लगभग उस्तै-उस्तै छन्। छोराछोरीबाट अपहेलित र तिरस्कृत।
पार्वतीका पतिका दुबै खुट्टै चल्दैनन्। जसले गर्दा उनी हिँड्डुल गर्न सक्दैनन्। पार्वतीको सहाराबिना उनी केही गर्न सक्दैनन्। पार्वतीका ४ छोरी र ३ छोरा गरी ७ सन्तान छन्।
‘छोरी बिहे गरेर गए र छोरा पनि बिहेपछि स्वास्नीका भए बाबु,’ पार्वतीले भनिन् ‘हामीलाई कसैले हेर्दैनन्, के गर्ने बाँच्नै पर्यो, बिरामी बुढालाई पाल्नै पर्यो।’
पार्वतीका अनुसार उनका छोरा कोही विदेश छन्, कोही भारतको बम्बैमा रोजगारीका लागि गएका छन्। तर छोराहरूले एक रुपैयाँ पठाउँदैनन् रे।
‘छोराहरूले पैसा पठाउने भए किन यो काम गर्दा हुँ र!,’ परियारले भनिन्। छोराले जेजस्तो व्यवहार गरे पनि उनीहरू माया भने पार्वतीलाई लाग्छ। आखिर आफ्नै रगत न हुन्।
उनीहरूको यादले भने निकै सताउने गरेको उनले बताइन्। तर धेरै भयो उनले छोरासँग भेट्न त के फोनमा समेत कुरा गर्न पाएकी छैनन्।
‘मसँग मोबाइल पनि छैन, मोबाइल चलाउनु पनि जान्दिनँ,’ पार्वतीले भनिन् ‘छोराले मेरो खोजी पनि गर्दैनन् र फोन पनि हान्दैनन्।’
काली कँवरका पति बितेको ३० वर्ष भयो। छोराछोरी हुर्काउन उनले निकै संघर्ष गरिन्। पति बितेपछि छोरा बुढेसकालका सहारा बन्लान् भन्ने उनको आशा थियो। तर…
‘छोरी बिहे गरेर पराई घर गई र छोरा बिहेपछि स्वास्नीको भयो,’ कालीले भनिन्, ‘ छोरा बुहारीले मलाई घरबाट लखेटेपछि म यो मैना बगरमा आइपुगें।’
कँवरको घर सल्यान हो। त्यहाँको उनको जग्गा जमिन पनि छ। पतिको नामको सम्पत्ति जम्मै उनकै नाममा छ। त्यही जग्गाको निहुँमा छोराहरूले आफूलाई मार्छन् कि भन्ने डर छ। त्यसैले उनी लुकेर बस्दै आएकी छन्। उनका एउटा छोरा नेपालगञ्जमा छन्, अर्का दाङ हंसपुरमा, एक जना काठमाडौं र अर्का एक जना सल्यानमै बस्छन्।
उनी दाङ झरेको ११ वर्ष पुग्यो। एक्लै कोठा भाडामा बस्छिन्।
भनिन् ‘ज्यान त जोगाउनु पर्यो। मलाई भेटाए मार्छन् कि भन्ने डर लाग्छ ।’ त्यही सम्पत्तिका कारण छोराले आफूलाई बारम्बार मार्ने धम्की दिने गरेको उनले बताइन्।
छोरा बुहारीले नराम्रो व्यवहार गरेपछि उनी घर छोडेर हिँडिन्।
‘मलाई बोक्सी, डंकिनी भनेर आरोप लगाए,’ कँवरले भनिन् ‘मलाई हवल्दारी जोई, बैदारकी जोई,वकिलकी जोई भनेर चरित्र हत्या गरे।’
तुलसीपुरको मैना बगरको शरमा आइपुग्नु भन्दा पहिलेको कथा उनले स्मरण गरिन्।
लाग्छ, मैना बगर सर्वहारा वर्गको साझा सम्पत्ति हो। जहाँ उनी जस्ता सयौं मैना बगरमा जीवन खोज्दै बाँच्ने आँट गरिरहेका छन्।
काली कँवर एक्लै कोठा भाडा लिएर बस्छिन्। कोठा भाडा एक हजार ५० रुपैयाँ मासिक बुझाउने गर्छिन्। लकडाउनमा पनि घरबेटीले भाडामा छुट दिएनन्। उनलाई एकातिर साँझ बिहान हातमुखको जोहो गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ कोठा भाडा बुझाउनु पर्ने समय आएको छ। त्यही भएर कँवर दिनरात मैना बगरमा संघर्ष गरिरहन्छिन्। बिहान सूर्योदयसँगै सुरू भएको उनको यो यात्रा बेलुका सूर्य अस्ताए पछि आँखा देखिँदासम्म जारी रहन्छ।
बगरबाट बालुवा निकालेपछि डोकोमा बोकेर पातुखोलाको ढिकसम्म लैजान्छन्। ‘ट्रयाक्टर खोलामा हाल्न पाइँदैन भन्छन्, त्यही भएर बोकेर ढिकमा लैजानु पर्छ,’ कँवरले भनिन् ‘ अनि ट्रयाक्टरले त्यहीँबाट बालुवा लैजान्छ।’
डोकोमा बालुवा ओसारिरहेकी ६२ वर्षीया सशिकला परियार, अन्दाजी ५० वर्षीया कमला वलीको पीडा पनि फरक छैन। उनीहरूले भने जड्याहा पतिवाट पीडित छन्।
डोकोमा बालुवा ओसारिरहेकी सशिकला सकिनसकी नाम्लोको सहाराले डोकोभरि बालुवा बोकेकी छन्।
‘छोरा बुहारी अलग्गै बस्छन्,’सशिकलाले भनिन्, ‘त्यही भएर बाँच्न बालुवा खेर्दै बेच्छु।’
एक दिनमा ५/६ डोकोमात्रै बालुवा खेर्न सक्ने उनले बताइन्। त्यो बेचेको पैसाले उनले चामल, तेल, नुन किनेर जीवनयापन गर्दै आएको बताइन्। सशिकलाका पति सधैं रक्सी खाएर बस्छन्।
‘सधैं रक्सी खाएर बस्छन्, पानी पनि सारेर आफैं खाँदैनन्,’ सशिकलाले भनिन्,‘बालुवा बोक्न नआए पनि भात भान्सा गरिदिए मलाई कति सजिलो हुन्थ्यो होला भन्ने लाग्छ।’
सकिनसकी बालुवा बेचेर जोहो गरेको पैशा पनि झगडा गरी मागेर रक्सीमा उडाइ दिने गरेको उनले गुनासो गरिन्।
५० वर्षीया कमला वलीको पीडा पनि उस्तै छ । तर जे भए नि बाँच्नका लागि संघर्ष गर्नै पर्ने भाव व्यक्त गरिन्। यस्तो लकडाउनको बेला पनि सरकारले आफू जस्तो गरिब नागरिकलाई वेवास्ता गरेकोप्रति दु:ख व्यक्त गरिन्।
‘हामीलाई अलिअलि राहात दिए के हामी यसरी बालुवा कोट्याउन आउनु पथ्र्यौ र!,’ उनले प्रश्न गरिन्, ‘ हामी पनि यो लकडाउनमा किन काम गर्न आउने थिइम !’
वलीको ६ जनाको परिवार छ। पति सधैं रक्सी खाएर बेकाममा डुल्नेमात्रै गरेको गुनासो पोखिन्।
मैना बगरमा बालुवा कोतर्न व्यस्त उनले आफूलाई मैना चरीसँग तुलना गरिन्। ‘खान पुगेको भए जेठमासको यो प्रचण्ड गर्मीमा हामी किन यो मैना बगरमा बालुवा कोतर्न आउँदा हौं,’ वलीले भनिन् ‘ मैना चरी र मेरो दुःखका कथा व्यथा एकै छन् जस्तो लाग्छ।’
अशिक्षा र गरिबीका कारण आफूले जे जस्तो दुःख कष्ट खेपेर भए पनि छोरा छोरीलाई उनले विद्यालयमा पढ्न पठाएको बताइन्।
धेरै पढाएर सन्तानलाई असल नागरिक बनाउने उनको सपना छ।