दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एक युवाको शनिबार मृत्यु भएको छ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ६ स्थित भुटनेटा क्वारेन्टिनमा बसेका १७ वर्षीय युवकको मृत्यु भएको हो।
उपचारका लागि दाङवाट बुटवल लैजाने क्रममा: शनिबार बिहान १० बजेतिर ती युवकको बाटोमै मृत्यु भएको हो।
ती युवक प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ आँपचौरका हुन्।
उनी गत जेठ ९ गते भारतबाट आई दाङको बंगलाचुली गाउँपालिकाको वडा नं. ५ स्थित झेलनेटास्थित सुधा माविको क्वारेन्टिमा दुई दिन बसेका थिए।
त्यसपछि उनलाई जेठ ११ गते वडा नम्बर ६ को भुटनेटा क्वारेन्टिनमा सारिएको बंगलाचुली गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले सेतोपाटीलाई बताए।
ती युवाको जेठ २१ गते स्वाब संकलन गरेर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको भए पनि अझैं रिपोर्ट नआएको जिसीले बताए।
दाङको बंगलाचुली गाउँपालिका वडा नं. ६ भुटेनटा र प्यूठानको माण्डवी गाउँपालिका वडा नं. ४ सीमाना क्षेत्र हुन्।
ती युवाले बंगलाचुलीको क्वारेन्टिनमा बस्ने तयारीसाथ आफ्नो जिल्लाको ठेगाना नलेखेर बंगलाचुली ६ भनेर लेखाएको हुँदा उनलाई त्यहिँ राखिएको थियो।
बंगलाचुलीका स्वास्थ्य संयोजक जिसीका अनुसार शुक्रबार साँझ ६ बजेतिर क्वारेन्टिका स्वास्थ्यकर्मी बासुदेव महराले ती युवालाई बान्ता भएको र श्वासप्रश्वासमा समस्या देखिएको जानकारी गराएका थिए।
त्यसपछि बेलुका ८ बजेतिर गाउँपालिकाकै एम्बुलेन्सवाट ती युवालाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जिसीले जानकारी दिए।
तर बिरामीको अवस्था गम्भीर रहेको हुँदा उपचारका लागि आइसियू चाहिने र त्यो सुविधा प्रतिष्ठानमा नरहेको भन्दै भर्ना गर्न मानेन।
तैपनि ती युवासंग एम्बुलेन्समा गएका अर्का युवाले उनलाई प्रतिष्ठानकै फिविर क्लिनिकमा लगे। जहाँ उनलाई उपचारविना नै रातभर राखियो। युवाको अवस्था विग्रँदै गयो। तर अन्त लैजाने एम्बुलेन्स भएन।
गाउँपालिकाको एम्बुलेन्स प्रतिष्ठानमा बिरामीलाई छोडेर फिर्ता भइसकेको थियो।
युवाको अवस्था झनै गम्भीर भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजकले एम्बुलेन्स पुन: प्रतिष्ठान पठाउन खोजे।
‘मलाई चालकले हुन्छ भने तर गएनन्,’ जिसीले भने, ‘मैले त्यहाँबाट बिरामीलाई निकालेर जसरी भए पनि अनेत्र लैजानु पर्छ भनेको थिए।’
जिसीका अनुसार त्यसअघि नै प्यूठानको माण्डबी गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुवबहादुर पोखरेललाई समेत उनले एम्बुलेन्स लगेर बिरामीको उद्धारका लागि आउन आग्रह गरेका थिए।
‘रातको साढे ११ बजिसेकेको थियो। त्यसपछि एम्बुलेन्स चालक, माण्डवीका स्वास्थ्य संयोजकलगायत सबैको मोवाइल स्वीच अफ भयो । त्यसपछि म १ बजेतिर सुते,’ जिसीले भने।
तर शनिबार बिहान करिब ५ बजेतिर ती युवाको साथमा रहेका अर्का युवाले बंगलाचुलीका स्वास्थ्य संयोजक जिसीलाई अवस्था झनै गम्भीर भएको जानकारी गराए।
त्यसपछि स्वास्थ्य संयोजक जिसीले ती युवालाई एम्बुलेन्स खोजेर दाङको तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालमा लैजान आग्रह गरे।
ती युवाले त्यसै गरे। एम्बुलेन्स खोजेर बिहान साढे ६ बजेतिर बेलझुण्डी विरामीलाई पुर्याए। तर बेलझुण्डी अस्पतलाका स्वास्थ्यकर्मीले पनि आफूहरुले पोजेटिभ केस मात्रै लिने तर गम्भीर बिरामीलाई भर्ना नगर्ने बताए।
बिरामी एम्बुलेन्समा छटपटाई रहेका थिए। त्यसपछि के गर्ने भन्ने अन्यौल सृजना भएपछि फेरि जिसीले ती युवालाई बुटवल लैजान आग्रह गरे।
एम्बुलेन्स बिहान करिब ८ बजेतिर बेलझुण्डीवाट बुटवलका लागि गुड्यो। तर बुटवल पुग्न करिब २५ किमी बाँकी छँदै ती युवाको मृत्यु भयो।
मृतकको शव उनको गृहजिल्ला प्यूठानको माण्डवी पठाइएको बंगलाचुली गाउँपालिका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए।
जिल्लाका अस्पतालहरूले बिरामीलाई उपचार गर्न नमान्दा ती युवाको मृत्यु भएको जिसीले जानकारी दिए।
जिसीका अनुसार मृतक युवकको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।