बाँकेस्थित कोहलपुर मेडिकल कलेजका डाक्डर, नर्स र कर्मचारी समेत गरी ४२ जनालाई क्वारेन्टिनमा राखिएको छ।
जेठ २२ गते कलेजमा भर्ना भएका रुकुमका एकजना पेटसम्बन्धी विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कका आएका ८ जना डाक्टर, ४/५ जना सहयोगी कर्मचारी र अन्य नर्स समेत गरी आइतबारदेखि ४२ जनालाई क्वारेन्टिनमा राख्ने निर्णय भएको कर्मचारी संघका अध्यक्ष यमबहादुर खड्काले सेतोपाटीलाई बताए।
शनिबार मात्रै रुकुमका ती विरामीको आन्द्राको अप्रेसन भएको थियो। उनको रिपोर्ट पोजेटिभ आएपछि अप्रेसनमा संलग्न डाक्टर, नर्स लगायत कर्मचारीलाई क्वारेन्टिनमा राखिएको अध्यक्ष खड्काले बताए।
अध्यक्ष खड्काका अनुसार ८ जना डाक्टरलाई सुर्खेत रोडस्थित चिसापानी मेडिकल कलेजको क्वारेन्टिनमा राखिएको छ। नर्स र अन्य सहयोगी कर्मचारीलाई कोहलपुर मेडिकल कलेजको क्वारेन्टिनमा राखिएको उनले बताए।
‘जेठ २२ गतेदेखि हालसम्म रुकुमका ती विरामीको सम्पर्कमा आएका नर्स लगायत ४२ जनालाई क्वारेन्टिनमा राख्ने निर्णय भइसकेको छ,’ अध्यक्ष खड्काले भने ‘अहिले पनि व्यवस्थापन समितिको छलफल चलिरहेको छ।’
उनले विरामीको सेवाका लागि गएका डाक्टर, नर्स लगायत सबैलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको बताए। उनले ती विरामीसँग रेडियोलोजिष्टपनि सम्पर्कमा आएको देखिएको जानकारी दिए।
त्यसका साथै ती विरामीलाई राखिएको कलेजको सर्जरी वार्ड आइतबारदेखि सिल गरिएको अध्यक्ष खड्काले जानकारी दिए। तर ओपिडी र रेडियोलोजी सेवा पनि सूचारु नै रहेको उनले बताए। एक हप्ता अगाडि पनि अछामकी एकजना सुत्केरीमा कोरोना संक्रमण फेला परेपछि मेडिकल कलेज एक दिन सिल गरिएको थियो।