आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
कास्की प्रहरीले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए। पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन्।
प्रहरी उपरीक्षक कार्कीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा मदिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको थियो।
त्यसपछि शव लुकाउने क्रममा उनलाई तिनले नजीकै सेती नदीमा बगाइदिएका थिए। जेठ ३२ गते बिहान साढे ३ बजे प्रहरी कन्ट्रोल रुममा तीनै साथीमध्येका एकले रसाइली हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
कास्की प्रहरीको टोलीले खोजतलास गर्नेक्रममा आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा शव फेला पारेको थियो ।
अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रउ कार्कीले जानकारी दिए।
लकडाउन अवधिमै आफ्नै साथीबाट हत्या भएको यो घटना पोखरामा तेस्रो हो। यसअघि पोखरा –१४ र २७ मा व्यक्तिगत रिसइबी र विवादकै कारण यस्तै प्रकृतिको घटना भएको थियो।
(रासस)