दाङमा साँझ ५ बजेपछि बजार खोल्न नपाइने भएको छ।
संक्रमित ह्वात्तै बढेपछि बिहीबारदेखि लागू हुनेगरी जिल्लाका पसल साँझ ५ बजेपछि खोल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
बितेका तीन दिनमा मात्रै जिल्लामा डेढ सय बढी मानिसमा कोरोना भाइरस पुष्टि भएको छ।
त्यसैले गर्दा बेलुका ५ बजेपछि दाङका बजार बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
‘बेलुका हुन थालेपछि मदिराजन्य पसलमा बढी असावधानी बढेको भन्ने गुनासो आयो,’ प्रजिअ रिजालले भने, ‘त्यसैले ५ बजेभित्रै सबै पसल बन्द गर्ने निर्णय भएको हो।’
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दुई दिनभित्रै कम्तीमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी व्यवस्थापन मिलाउने निर्णय भएको बताए।
दैनिक एक हजार जति व्यक्तिको पिसिआर रिपोर्ट सार्वजनिक गर्ने गरी तयारी गर्ने, क्वारेन्टिनलाई थप व्यवस्थित गर्ने, संक्रमितहरूका लागि सम्बन्धित क्वारेन्टिनमै आइसोलेसन बनाउने, सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरूमै स्थान बनाउने निर्णय बैठकले गरेको प्रजिअ रिजालले जानकारी दिए।
त्यसका लागि १० जना बढीको शव व्यवस्थापनमा चाहिने सामान जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय बैठकले गरेको छ।
बैठकले वर्षातको समयमा बाढी, पहिरोको जोखिमबाट बच्नका लागि वडा-वडामा सचेतना फैलाउने निर्णय पनि गरेको छ।
त्यसैगरी, बैठकले सवारी साधनलाई व्यवस्थित गर्न निजी सवारी साधनमा जोरबिजोर प्रणाली जिल्लाभर लागू गर्ने निर्णय पनि गरेको छ।
त्यसमा मोटरसाइकलमा जोरबिजोर प्रणाली अन्तगर्त एक जना मात्र बसेर सवारी सञ्चालन गर्न पाउने निर्णय भएको छ।
जीप/कारमा चालकसहित अन्य दुई जना बस्नेगरी जोरबिजोर प्रणाली लागू गरिएको छ।
दाङमा जोर/बिजोर गतेका आधारमा त्यो नियम लागू हुने भएको छ।
हाल दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी रहेको छ भने करिब ४ हजारको परीक्षण रिपोर्ट आउन बाँकी छ। हालसम्म जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै पिसिआर विधिबाट परीक्षण हुँदै आएको छ।
बैठकमा कोरोना संकट व्यवस्थापन समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, दश वटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरू, राजनीतिक दलका प्रमुखहरू, नेपाल पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
दाङमा मंगलबार बेलुकासम्म संक्रमितको संख्या २४४ पुगेको छ। त्यसमध्ये २५ जना उपचारपछि घर फर्किएको कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
सरकारले २ सय बढी संक्रमित फेला परेका जिल्लाहरूलाई रेड जोनमा राखेर लकडाउन कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।