कैलालीस्थित क्वारेन्टिनभित्रै महिलामाथि बलात्कार भएको विरोधमा तुलसीपुरमा प्रदर्शन भएको छ। तुलसीपुरको नमुना युवा सांसदले बिपी चोकमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका सहभागीले ‘क्वारेन्टाइनमै बलात्कार, यही हो १० अर्बको चमत्कार’, ‘गृहमन्त्री के गर्दै छन्, बलात्कारीले देश घेर्दै छ्न्’, ‘हाम्रो आह्वान महिला सुरक्षा र सम्मान,’ ‘महिलाविनाको यो समाज अधुरो छ,’ भन्ने जस्ता प्लेकार्डहरु बोकेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नमुना सांसदको विपक्षी दलकी नेतृ इशा वलीले क्वारेन्टिन व्यवस्थित र सुरक्षित बनाउन नसक्दा सबैभन्दा समस्या महिलाले भोग्नु परेको बताइन्।
‘कतै क्वारेन्टिनमै बलात्कार, कतै सर्पले टोकेका र कतै आत्महत्या गरेका खवरहरु सार्वजनिक भइरहेका छन्,’ वलीले भनिन् ‘यस्ले क्वारेन्टिनको अवस्था कस्तो छ भन्ने छताछुल्ल भएको छ।’
उनले आफ्ना नागरिकप्रति सरकार थप जिम्मेवार बन्नु पर्ने आवश्यकतामा जोड दिइन्।
कार्यक्रमलाई सम्वोधन गर्दै नमुना सांसद गणेश भण्डारीले सरकारले गरेको दश अर्ब लगानी बालुवामा पानी समान भएको तर्क गरे।
उनले नमूना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनमा बसेकालाई घर पठाउने जस्ता कार्यले सरकार नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको छ कि? भन्ने भान भएको बताए। फेरि यस्ता अक्षम्य गल्ती नदोहोर्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।
उपस्थितको तर्फबाट सम्वोधन गर्दै ऋषि परियारले क्वारेन्टिन व्यवस्थित बनाउन सकेमा मात्रै समाजमा संक्रमण फैलिने जोखिम कम हुने भएकाले सरकार गम्भीर बन्नुपर्ने बताए।
प्रदर्शन युवा सांसदकी विपक्षी दलकी नेतृ इशा वलीको अग्रसरतमा भएको हो ।