राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित चार जनामा कोरोना संक्रमण फेला परेको छ।
प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा शुक्रबार संक्रमण फेला परेको जानकारी दिइन्।
‘उहाँहरु संक्रमितको सम्पर्कमै आएका कारण संक्रमित हुनु भएको हो,’ भण्डारीले भनिन् ‘उहाँहरु बाहिर कतै जानु भएको छैन।’
प्रतिष्ठानमै उपचारका लागि आएका बिरामी तथा सर्वसाधारणबाट संक्रमण फैलिएको उनले बताइन्।
प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रशाद देवका अनुसार ३९ वर्षीय एक चिकित्सक, ३४ र २५ वर्षीया दुई नर्स र ४२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो।
कम्तिमा पनि अबको दुई दिनसम्म प्रतिष्ठान सिल गरिने उनले बताए। ‘हामी दुई दिन प्रतिष्ठानमा विरामी भर्ना लिँदैनौं र पूरै प्रतिष्ठान निर्मलीकरण गर्छौं,’ देवले भने। प्रतिष्ठानमा कार्यरत, कर्मचारी, चिकित्सक लगाए सबैको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्ने देवले जानकारी दिए ।
दाङमा चिकित्सकसहित १२ संक्रमित
यसअघि दाङमा अरु ८ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार योसहित जिल्लामा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १२ पुगेको छ।
घोराहीमा मात्रै ५ स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको छ। बिहीबार मात्रै घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको थियो।
मंगलबार राजपुर गाउँपालिकामा २५ वर्षीया ल्याब असिष्टेन्टमा संक्रमण भेटिएको थियो।
यसअघि घोराही वडा नं.४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ वर्षीया दुई महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो।
त्यस्तै घोराही वडा नं. २ रामपुरको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४६ वर्षीय एक पुरूष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४८ वर्षीय एक अर्का पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ। यसअघि राप्ती गाउँपालिकाका १ र लमही नगरपालिकाका थप १ जनामा पनि कोरोना संक्रमण फेला परेको थियो।
उनीहरू क्वारेन्टिनमा रेखदेख तथा स्वाब संकलनमा खटिँदै आएकाहरु हुन्।