कोरोना संक्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ।
काभ्रेपलाञ्चोकका संक्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्।
संक्रमितहरु दुई सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए।
संक्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कारोना भाइरस नेगेटिभ देखिएपछि ६ जना नै शुक्रबार साँझ घर फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले जनाएको छ।
यसपछि काभ्रेपलाञ्चोक कोरोना भाइरसमुक्त भएको हो।
पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार घर फर्किएकालाई होम क्वारेन्टिनमा बसाइएको छ।
संक्रमितमध्ये दुई महिला हुन्।
रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एक तथा काभ्रेपलाञ्चोक घर भई एक ललितपुर र एक काठमाडौं बस्नेमा कोरोना संक्रमण भएको थियो। संक्रमितमध्ये चार जना भारतबाट फर्किएका नागरिक रहेको पोष्टले जनाएको थियो ।
डिस्चार्ज भई होम क्वारेन्टिनमा बसेकाको स्थानीय स्वास्थ्यकर्मीबाट निगरानी गरिने झाले बताए। संक्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको झाको भनाइ छ।
पोष्टका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टिनमा भारतलगायत विदेशबाट फर्किएका २२ महिलासहित ८७ जना बसेका छन्।
यसअघि गत जेठ १ गते राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो।
कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालको पहिलो मृतक हुन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ।
१३ स्थानीय तहका क्वारेन्टिनलाई १०० शैया क्षमताको बनाउने तयारी गरिएको हो। मण्डन देउपुर नगरले हालै मात्र १०० श्ययाको क्वारेन्टिन व्यवस्थित गरेको छ।
साथै, विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना हुन थालेपछि सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले संयुक्त रुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारीमा जुटेका छन्।
केन्द्र र पोष्टले संयुक्त रुपमा क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन सोही अनुसार क्वारेन्टिनको बसाइ तथा सेवा दिने व्यवस्थापनका लागि आवश्यक तयारीमा जुटेका छन्।
तेस्रो मुलुकबाट फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ।
विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधासम्पन्न होटल क्वारेन्टिनमा राख्ने तयारीसमेत गरिएको छ।
हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०७ शैयाको क्वारेन्टिन व्यवस्थित गरिएको छ।
विभिन्न देशमा ११ हजार ५ सय ८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ। जसमध्ये एक हजार १२५ भारतमा बस्दै आएका थिए।
(राससका लागि राजकुमार पराजुली)